कुनै दल जान नसकेको तकसेरामा एमाले पस्यो


धनवीर दाहाल, रुकुम ।
रुकुमको पुुथा उत्तरगंगाको केन्द्र तकसेरामा हुनुपर्ने भन्दै आन्दोलनमा उत्रेका तकसेराबासीले कुनै पनि राजनैतिक दलहरुलाई कार्यक्रम गर्न नदिने भनिरहेको बेला एमाले भने तकसेरामा प्रवेश गरेको छ ।

कुनै पनि पार्टीलाई कार्यक्रम गर्न नदिएका तकसेरा बासीले भने एमाले पुथाउत्तरगंगाको प्रचार टोलीलाई कार्यक्रम गर्न दिएका छन् । लामो समयदेखि आन्दोलनमा रहेका तकसेरा बासीले भने एमाले राष्ट्रबादी दल भएको र रुकुम जिल्लाका गाउँपालिका केन्द्र बनाउनेमा कुनै गल्ती नगरेको भन्दै कार्यक्रम गर्न दिएको ज्योतिमान गुरुङले बताउनुभयो ।

अहिले सम्म उक्त क्षेत्रमा कुनै पनि दलहरुलाई कार्यक्रम गर्न दिएका छैनन् । पुथा उत्तर गंगा गाउँपालिका चुनाव प्रचार प्रसार समितिले बुधबार तकसेरामा चुनावी सभा सम्पन्न गरेको छ ।

 

उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एवं प्रमुख अतिथि विमल कुमार पुनले सबै जातजाती, सबै भाषालाई एमालेले स्थान दिएको बताउनुभयो । साथै आफ्नो गाउँ आफै बनाउ भन्ने एमालेको नीति नै अहिले आएर सावित भएकोले स्थानीय तहको विकास गर्न एमालेलाई जिम्मा दिनुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष पुनले एमालेलाई स्थानीय तहको विकास गर्न दिए ५ वर्षमै समृद्ध बनाएर छोड्ने दाबी गर्नुभयो । पुथा उत्तरगंगा गाउँपालिकामा काँग्रेसले काजीमान घर्तीलाई, नेकपा एमालेले भिउमान घर्तीलाई र माओवादी केन्द्रले ओमप्रसाद घर्तीलाई अध्यक्षका लागि चुनावी मैदानमा पठाएको छ ।

पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्षका प्रत्यासी भिउमान घर्तीले अहिलेको जनमत एमालेमय भएको र पूर्वी रुकुमलाई आफ्नो ठूलो सेवा गरेकोले आफुलाई पुथा उत्तरगंगाबासीले जिताएर छाड्ने बताउनुभयो । उक्त कार्यक्रमा एमालेका जिल्ला सदस्य सतमान पुन, पुथा उत्तरगंगाका गाउँपालिकाका अध्यक्षका प्रत्यासी भिउमान घर्ती, उपाध्यक्ष सिता घताने, मस्त समाल लगायतले बोल्नुभएको थियो ।

भरत बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य मस्त बुढाले गर्नुभएको थियो भने सञ्चालन जगविर बुढाले गर्नुभएको थियो ।