स्थानान्तरण गरिएका दुई अर्ना मरे


 

रत्ननगर (चितवन), ७ असार । ललितपुरको जाउलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन् ।

गएको माघ महिनामा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो । चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।

“भाले अर्ना अर्काे जङ्गली भालेसँग जुधेर मरेको हो, पोथी बिरामी भएर मरेको हो,” उहाँले भन्नुभयो । अब यहाँ १३ वटा अर्ना बाँकी छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले पोथी अर्ना गएको बिहीबार र भाले एकहप्ता अघि मरेको बताउनुभयो । प्राकृतिक दुर्घटना, रोगको प्रकोपलगायत कारणले वन्यजन्तु मासिनसक्ने हुँदा वंश संरक्षण गरी सङ्ख्या वृद्धिका लागि यहाँ अर्ना स्थानान्तरण गरिएको थियो ।

गएको माघ १४ गतेदेखि २७ गतेसम्म यहाँ १५ अर्ना ल्याइएको थियो । कोसीटप्पु वन्यजन्तु आरक्षबाट १२ र चिडियाखानाबाट तीन वटा अर्ना ल्याइएको थियो । कोसीटप्पुबाट दुई भाले र चिडियाखानाबाट एउटा भाले ल्याइएको थियो । चितवनको सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुलाखोर बनाएर अर्ना राखिएको छ । रासस