निर्बाचन सफल बनाउन मतदान अधिकृतहरुका लागि धमाधम प्रशिक्षण


रामधन राई, खोटाङ ।
स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि खोटाङका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि निर्वाचन सम्बन्धी प्रशिक्षण धमाधम चलिरहेको छ । दोश्रो चरणको लागि असार १४ गते तोकिएको निर्वाचन सफल बनाउनका लागि गाउँ–गाउँमा खटिन लागेका दुई नगरपालिका र आठ गाउँपालिका तथा ७९ वडाका ३ सय ४६ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि धमाधम प्रशिक्षण चलिरहेको हो ।

 

मतदान केन्द्र स्थापना, मतदान परिचयपत्र वितरण, मतदान प्रकृया, मतदानपछि मतपेटिकालाई सुरक्षित साथ मूख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा पु¥याउने लगायतका विषयमा जानकारी दिन प्रशिक्षण कार्यक्रम राखिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका निर्वाचन अधिकारी दिनेश खत्रीले बताए ।

 

निर्बाचन आयोगले आयोजना गरेको तालिमअन्तर्गत पहिलो चरणमा मंगलबार र बुधबार १ सय ९२ जना तथा दोश्रो चरणमा बिहिबार र शुक्रबार १ सय ५४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिने तयारी गरिएको छ ।

 

१ सय ३६ स्थलमा १७३ मतदान केन्द्र रहेको जिल्लामा सुरक्षा ब्यवस्था, मतदाता शिक्षा लगायत अन्य तयारी पनि तीब्र रुपमा अगाडी बढाईएको जनाईएको छ । जिल्लाबाट निर्बाचित हुने ४ सय १५ जनप्रतिनिधिका लागि १ हजार ५ सय ६२ जनाको मनोनयन दर्ता भएको छ । जसमध्ये १८ जना बागी तथा स्वतन्त्र उम्मेदवार रहेका छन् ।