लाग्यो असारे विकास : प्राविधिकलाई भ्याई नभ्याई


सन्तोष अधिकारी, गोरखा । नेपालीमा एउटा उखान छ ‘जब राती, तब बूढी ताती’ यस्तै छ अहिले गोरखामा जताततै विकास निर्माणको काम धमाधम भइरहेको छ । असार मसान्त नजिकिँदै गर्दा जिल्लाका प्राविधिक कार्यालय गोरखामा रहेका प्राविधिकहरुलाई पनि भ्याई नभ्याई छ ।

मनसुन सक्रिय भइसके पछि पनि अहिले जिल्लाको विभिन्न ग्रामिण सडक आयोजनाहरु धमाधम खन्नेकाम भइरहेको छ । र तिनै बर्खे विकासको जिल्ला प्राविधिक कार्यालयका प्राविधिकहरुले अनुगमन गरिरहेका छन् । अनुगमनमा खटिने कुनै प्राविधिकहरुले ठेकेदार अथवा निर्माणको जिम्मा लिएको कम्पनीलाई खबरदारी समेत गर्दैनन् ।

 

चालु आर्थिक वर्षमा गोरखामा सातसय ५३ वटा सानाठुला आयोजना मध्ये सातसय २५ आयोजनाको सम्झौता भएको जिल्ला समन्वय समितीले जनाएको छ । ‘जिल्ला भर सातसय २५ वटा आयोजना निर्माण हुनुपर्ने छ’ स्थानीय विकास अधिकारी नारायण आचार्यले भने ‘यतिका योजना जम्मा सात जना प्राविधिकहरुले अनुगमन गरि रहेका छन् । कहिले कता कहिले कता प्राविधिकहरु मिलेर अनुगमनको काम गरिरहनु भएको छ ।’

 

विभिन्न आर्थिक केन्द्र तथा अहिलेको गाउँपालिकाको केन्द्र जोड्ने सडक खन्नेकाम, कृषि सडक, खानेपानी आयोजना, सिंचाई आयोजनाको धमाधम निर्माणको काम भइरहेको आचार्यले बताए ।

यिनै आयोजनाहरुको ठेकेदारहरुले असार मसान्त नजिकिँदै गर्दा हतार हतारमा काम गरिरहेका छन् । मनसुन भित्रिए सँगै पानी परिरहँदा पनि गोरखा सदरमुकामको विसौनी मोड हुँदै गोरखा क्याम्पस जाने सडक अहिले पनि पिचको काम भइरहेको छ ।

 

‘काम सम्पन्न भए नभएको हेर्न दौडधुप छ’ जिल्ला प्राविधिक कार्यालयका प्राविधिक लालु गुरुङ्ग भन्छन् ‘हामी कम संख्यामा प्राविधिक छौँ । कुदेको कुदेई छौँ । स्टमेट गर्दा देखि नै समुह बनाउँएर काम बाँडफाँड गरेर गरिरहेका छौँ । हेरौँ भ्याईन्छ की भ्याईदैँन ।’ जिल्ला समन्वय समितीले अगामी असार २० गते सम्म सबै काम सम्पन्न गर्न सबैलाई निर्देशन दिएको छ ।

 

त्यस्तै जिल्ला समन्वय समितीले यस वर्ष गोरखाको विकास निर्माणको प्रगती ९० प्रतिशत भन्दा धेरै हुने जनाएको छ । जेठ र असार महिनामा गोरखाका अधिकांश क्षेत्रमा ग्रामिण सडक निर्माण सुरु गर्ने गरिएको छ । सोही सडकलाई फेरी बडादशैँ आउने बेला जिल्ला समन्वय समितीले बजेट विनियोजन गरेर मर्मत गर्ने प्रचलन पुरानै छ ।