काँगे्रसको चुनावी आमसभामा विकास निर्माणमा जोड


 

सङ्खुवासभा, ६ असार । धर्मदेवीनगरपालिकास्थित तामाफोकको मुढेबजारमा आज आयोजित नेपाली काँग्रेसको चुनावी आमसभामा सांसद दीपक खड्काले सिंहदरबारको अधिकार जनताको गाउँटोल दूरदराजसम्म ल्याउने पहिलो कार्य काँग्रेसले गर्ने उद्घोष गर्नुहुँदै स्थायी शान्ति र संविधान कार्यान्वयनका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

सो कार्यक्रममा धर्मदेवी नगरपालिकाका काँग्रेसका उम्मेदवार रमेश जिमीले जनताका विकास निर्माणका पक्षमा आफू अहोरात्र लाग्ने बताउनुभयो ।

सो कार्यक्रममा उपप्रमुखका उम्मेदवार शोभा घिमिरेले महिलाको हकहित र धर्मदेवी नगरपालिकालाई सुशासन र भ्रष्टाचारमुक्त नगर स्थापित गर्न आफ्नो पहिलो प्राथमिकता हुने धारणा राख्नुभयो ।

कार्यक्रममा पार्टीका नेताहरु थलकुमार लिङ्खा, दीपक लिम्बू, पूर्वसभासद् विना पौडेल, नेपाली काँग्रेस जिल्ला सभापति दीपनकुमार श्रेष्ठ, महासमिति सदस्य ज्ञानबहादुर कार्कीले विकास निर्माणका लागि काँग्रेसको पक्षमा मतदान गर्न आग्रह गर्नुभएको थियो । रासस