देश र नागरिकको हितमा काँग्रेसः नेता गगन थापा

0
Shares

 

इलाम, ६ असार । नेपाली काँग्रेसका युवानेता गगनकुमार थापाले अप्ठ्यारो परिस्थितिमा काँग्रेसले आफू हारेर पनि देशलाई जिताएको बताउनुभएको छ ।

काँग्रेस चुनाव प्रचार प्रसार समितिले इलामको माई नगरपालिका दानाबारीस्थित शुक्रबारे बजारमा आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेस नेतृत्वको वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वाेपरि ठानेर प्रदेश नं.२ को चुनाव सारेको स्पष्ट पार्नुभयो ।

पूर्वमन्त्रीसमेत रहनुभएका नेता थापाले चुनाव सारेर राष्ट्रलाई निकास दिन खोजेको उल्लेख गर्दै सिङ्गो राष्ट्रलाई एकीकृत बनाउने प्रयास काँग्रेसको छ भन्नुभयो ।

देश र नागरिकको हितमा काँग्रेस दृढताकासाथ उभिएको छ भन्दै उहाँले तेस्रो चरणको निर्वाचन तोकिएकै मितिमा हुने र त्यसमा पनि राजपा भाग नलिए उसलाई नै घाटा हुने बताउनुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनसँग जोडिएका यो निर्वाचनमा इलामका सबै स्थानीय तहमा काँग्रेसका उम्मेदवारलाई विजय गराउन पार्टीका प्रत्येक कार्यकर्ताको साझा दायित्व भएको उल्लेख गर्दै दोस्रो चरणको निर्वाचनबाट काँग्रेस पहिलो पार्टी भएर उदाउने दाबी गर्नुभयो ।

सांसद नगेन्द्र कुमाल, सो नगरपालिकाका प्रमुख पदका उम्मेदवार विष्णु कार्की, उपप्रमुख चन्द्रमाया लिम्बू र पार्टीका जिल्ला सचिव खगेन्द्र देवान लगायतले संविधान कार्यान्वयन तथा नगरपालिकाको विकास र समृद्धिका लागि काँग्रसका उम्मेदवारलाई विजयी गराउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । रासस