कांग्रेसले बाहेक अन्य दलले देशको विकास गर्न नसक्ने डा. महतको दाबी


भद्रपुर (ने.स) । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांग्रेसले बाहेक अन्य दलले देशको विकास गर्न नसक्ने दाबी गरेका छन् ।

नेपाली कांग्रेस दमक नगर समितिले मंगलबार झापामा आयोजना गरेको चुनावी प्रतिबद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै नेता डा. महतले देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र भएकाले देशको विकास कांग्रेसले मात्र गर्न सक्ने बताए ।

देशको परिपक्व र खारिएको पार्टी कांग्रेस मात्र भएकोले देशमा प्रजातन्त्र स्थापना देखि गणतन्त्र हुदै संविधान ल्याउन कांग्रेसलेनै संघर्ष गरेको बताए । कांग्रेस यो देशको एक मात्र परिपक्व पार्टी भएकोले कांग्रेसबाट चुनिने प्रतिनिधिले मात्र देशको विकास गर्न सक्ने दाबी गरे ।

डा. महतले संविधानले स्थानीय तहमा सबैभन्दा धेरै अधिकार दिएको बताए । केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तक्षेप गर्छ भनेर हामीले संविधानमै उल्लेख गरेर सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गरे । त्यो अधिकारलाई परिचालन गर्न कांग्रेसले मात्र सक्ने भन्दै अब स्थानीय सरकारमा कांग्रेसको नेतृत्व आवश्यक रहेको बताए । उनले उखान टुक्काले देश नचल्ने बताउँदै काम गरेर देखाउन अन्य दललाई चेतावनी समेत दिए ।

 

कांग्रेसले मात्र देशमा आर्थिक विकास गर्न सक्ने उनले बताए । ‘देशको आर्थिक विकासको मोडेल सबै कांग्रेसले ल्याएका हुन अरूले त यसको सदुपयोग मात्र गरेका हुन, उनले भने, ‘अर्काले लगाइदिएको ओछ्यानमा सुत्न त धेरै सजिलो हुन्छ ।

 

एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक आइपुगेका नेता डा. महतले एमाले अध्यक्ष ओलीविरुद्ध खनिए । उनले एमाले अध्यक्ष ओली विकासविरोधी भएको समेत आरोप लगाए । उनले भने, ‘ओलीजी विकास विरोधी नै हो । म अर्थमन्त्री भएका बेला उहाँको क्षेत्रमा पर्ने दमक–चिसापानी–रवि सडकको अनुगम गर्न जाने र त्यहाँ एउटा पर्यटकीय क्षेत्रका लागि पार्क शिलान्यास गर्ने भनेर आउन लागेको थिएँ’, डा. मतले भने, ‘तर उहाँले मलाई रोक्नुभयो ।’

 

ओलीले त्यहाँ एमालेका कार्यकर्ताले विरोध गर्छन् भनेकाले आफू नआएको उनले बताए । ‘उहाँ आफ्नै क्षेत्रको विकासको काममा त यसो गर्नुहुन्छ, झन् अरू ठाउँमा त कसो गर्नु होला?’, उनले भने । एमाले अध्यक्ष ओली मधेसी, जनजाति, आदिवासी तथा दलितको विरोधी भएको समेत उनले आरोप लगाए ।