खोटाङमा २० जना बागी तथा स्वतन्त्रमध्ये चार जनाको उम्मेद्वारी फिर्ता


रामधन राई, खोटाङ ।
खोटाङमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेका चार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।

असार १४ गतेको स्थानीय तहको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका दुई उम्मेद्वार र दलगतरुपमा उम्मेदवारी दिएका दुई उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन् । रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीमप्रसाद लुइटेल र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको वडा सदस्यमा स्वतन्त्र मनोनयन दर्ता गरेका भीमबहादुर तामाङले उम्मेद्वारी फिर्ता लिएका हुन् । दुई स्वतन्त्र उम्मेद्वारले मंगलबार बिहान ११ बजे अगावै आफ्नो मनोनयन फिर्ता लिएको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

यस्तै, राप्रपा नेपालकोतर्फबाट रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको वडाध्यक्षमा उम्मेद्वारी दिएका ईन्द्रप्रसाद रिजाल र संघीय समाजबादी फोरमका तर्फबाट रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको सदस्यमा उम्मेदवारी दिएकी अनुपमा राईले पनि मनोनयन फिर्ता लिएको मूख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नगरपालिकाको मेयर, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले बागी तथा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । असार १४ गतेको स्थानीय तहको निर्वाचनबाट २ नगर, ८ गाउँपालिका तथा ७९ वडाका ४ सय जनप्रतिनिधिका लागि एक हजार ५ सय ६७ जनाको मनोनयन दर्ता भएकामध्ये २० जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको थियो ।

 

रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा झमप्रसाद आचार्यले मनोनयन दर्ता गरेका छन् । आचार्यले नेकपा (क्रान्तिकारी माओवादी)को भातृ संगठन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको नामबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

 

जिल्लाको अर्को नगरपालिका हलेसी तुवाचुङ नगरपालिकामा मेयरमा भोजराज बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बस्नेतले पनि देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालकै तर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

 

केपीलासगढी गाउँपालिका अध्यक्षमा हरिचन्द्र राई र दिप्रुङ गाउँपालिकाको अध्यक्षमा तीर्थ राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा रुद्रप्रसाद रेग्मी र उपाध्यक्षमा सरिता राईको मनोनयन दर्ता भएको छ ।

 

लामीडाँडा गाउँपालिकाको उपाध्यक्षमा रमेश अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएको जनाइएको छ । यस्तै, रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेको वडाध्यक्षमा नन्दप्रसाद घिमिरे, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडाध्यक्षमा उद्धव राई, रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अध्यक्षमा ढाकप्रसाद लुइटेल र भीमप्रसाद लुइटेल, रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको वडा सदस्यमा अञ्चलकुमार राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

हलेसी तुवाचुङ नगरपालिका–७ को वडाध्यक्षमा थामबहादुर राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीको वडाध्यक्षमा राजकुमार राई र हलेसी तुवाचुङ नगरपालिका–७ को वडा सदस्यमा रमेश बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।

 

स्रोतका अनुसार केपीलासगढी गाउँपालिका–१ फेदीको वडाध्यक्षमा देवान राई र केपीलासगढी गाउँपालिका–४ बाक्सिलाको सदस्यमा भीमबहादुर तामाङ, साकेला गाउँपालिका–४ मात्तिमको वडाध्यक्षमा रामकृष्ण खड्का, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँको वडाध्यक्षमा इवराज गुरुङ र जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङको वडाध्यक्षमा दिलबहादुर राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । बागी उम्मेदवार दर्ता गराउनेमा अधिकांश एमाले कार्यकर्ता रहेका छन् ।