वीरेन्द्रनगर नगरपालिकामा दमकल


 

सुर्खेत, ५ असार । वीरेन्द्रनगर नगरपालिकाले दमकल खरिद गरेको छ ।

स्थापना भएको ४१ वर्षपछि नगरपालिकाले रु ६० लाख मूल्य पर्ने दमकल खरिद गरेको हो ।
साविकको मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम वीरेन्द्रनगर नगरपालिकाको आफ्नै दमकल नहुँदा जनस्तरबाट चर्को दबाब खेपिरहेका नगरपालिकाले स्थानीय विकास मन्त्रालयको आर्थिक सहयोगमा भारतको दिल्लीस्थित अशोक ल्यानिन् कम्पनीबाट दमकल खरिद गरेर शनिवार ल्याएको हो ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ जिन्सी सहायक खड्क केसीले वीरेन्द्रनगर नगरकार्यपालिकाको बैठक बसेर मेकानिकल इन्जिनियरको प्राविधिक परीक्षण र प्रतिवेदनका अधारमा दमकल सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

“दमकल सञ्चालनका लागि सवारी चालक र फायर म्यान गरेर पाँचजना कर्मचारी आवश्यक पर्छ”, केसीले भन्नुभयो – “ती पदपूर्ति गर्न समय लाग्ने भएकाले तत्कालका लागि नगरपालिकासँग भएका जनशक्ति नै परिचालन गर्ने तयारीमा छौँ ।”

दमकल निर्माण कम्पनीले नगरपालिकासँग रहेका पाँचजना कर्मचारीलाई दमकलसम्बन्धी आवश्यक प्रशिक्षण दिने पनि उहाँले बताउनुभयो । रासस