शिवराजको मेयरमा ११ स्वतन्त्र उम्मेदवार


सीताराम चौधरी, चन्द्रौटा (कपिलवस्तु) ।
कपिलवस्तुको शिवराज नगरपालिकाको मेयर पदमा ७ दल र ११ स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ । एमालेको तर्फबाट मेयर पदमा नेत्रराज अधिकारीको मनोनयन दर्ता गरिएको भने नेपाली कांग्रेसका प्रेम बहादुर सिंह रायमाझी, नेकपा माओबादी केन्द्रका डा. प्रकाश पौडेल, राप्रपाबाट अजय थापा, राष्टिूय जनमोर्चाका चेतनारायण खनाल, संघीय समाजबादी फोरम नेपालका कृष्णकुमार चौधरी र नेपाल लोकतान्त्रिक फोरमबाट सतिषचन्द्र गुप्तले मेयर पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

शिवराज नगरपालिकाको मेयर पदमा ११ जनाले स्वतन्त्र उम्मेदवारी दिएको निर्वाचन कार्यालयले जनाएको छ । आयोगले मनोनयन दर्ताका लागि तोकेको समयानुसार जमशेर मियाले विहान ८ बजे नै कार्यालय पुगी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । मिया नेपाली कांग्रेसबाट मेयरका आकांक्षी थिए । नेपाली कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिएको बताउँछन् । यता विभिन्न पार्टीका सक्रिय सदस्य रहेका नाजमा खातुन, फिलीप मोहम्मद, सुक्मदिन मिया, रज्जाक मिया, इन्द्रवती पासी र घनश्याम सोनारसमेतले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दिएका छन् ।

यसैगरी लामो समयदेखि नेपाली कांग्रेसमै आबद्ध भई समाजसेवा गर्दै आएका देवकुमार भारतीलाई पार्टीले उपेक्षा गरेपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए । हालै एमाले परित्याग गरी संघीय समाजबादी फोरम नेपालमा प्रवेश गरेका विष्णु गुप्तले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । यस्तै नेपाली कांग्रेसमै आस्था राख्ने मधुसुदन पोख्रेलले पनि स्वतन्त्रबाट मेयरमा मनोनयन दर्ता गराएको निर्बाचन कार्यालयले जनाएको छ ।

यता नेपाली कांग्रेसका जिल्ला समिति सदस्य रहेका चन्द्रौटा क्षेत्रकै अगुवा नेता हरिप्रसाद पोख्रेलले स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी दिएका छन् । मेयर पदका दाबेदार रहेका पोख्रेललाई पार्टीले मेयरमा टिकट नदिएपछि अहिले स्वतन्त्रबाट उपमेयर पदमा मनोनयन दर्ता गराएको उनले बताए । नेपाली कांग्रेसले उपमेयरमा महिलालाई नउठाई पुरुषलाई उठाउन नमिल्ने भएपछि मिलेमतोमा स्वतन्त्रबाट पुरुषलाई उपमेयर उठाएको नेपाली कांग्रेसकै एक नेताले जानकारी दिए ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य भई लामो समयदेखि महिला संगठनमा रही काम गरेकी रीता पौडेलले पनि उपमेयर पदमा उम्मेदवारी दिएकी छन् । उपमेयर पदका लागि आफू आकांक्षी हुँदा पनि पार्टीले कुनै महिलालाई पनि उपमेयरको टिकट नदिएपछि बाध्य भएर स्वतन्त्रबाट उपमेयर पदमा मनोनयन दर्ता गराएको उनले बताएकी छन् । यसैगरी राजपाका नेता रहेका मोहम्मद मुस्तफा खाँ पनि स्वतन्त्रबाट उपमेयरमा मनोनयन दिएका छन् । यस्तै माओबादी बैद्यका स्थानीय नेता ज्ञानीराम पुरी र नेपाली कांग्रेसका युवा सुरेश जैसवालले पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
शिवराज नगरपालिकाको मेयर पदका लागि दलहरुमध्ये ५ दलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमालेबाट शिवकुमारी चौधरी, माओबादी केन्द्रबाट स्वेता गिरी, राप्रपाबाट सविता थारु, राष्टिूय जनमोर्चाबाट इन्द्रकुमारी खनाल र संघीय समाजबादी फोरम नेपालबाट सुमन यादवले उपमेयरमा उम्मेदवारी दर्ता गराएको निर्वाचन सहायक अधिकृत जगदीश अर्यालले जानकारी दिए । कूल ११ वडा रहेको शिवराज नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष तथा सदस्यहरुसहित ३सय ९५ जनाले मनोनयन दर्ता गराएको निर्बाचन अधिकृत शेषकान्त पौडेलले जानकारी दिएका छन् ।

विजयनगरमा २१६ जनाको उम्मेदवारी

कपिलवस्तुको सुदूर पश्चिम क्षेत्रमा पर्ने विजयनगर गाउँपालिकामा २सय १६ जनाको उम्मेदवारी परेको छ । एक जना अध्यक्ष पदका लागि ५ स्वतन्त्र सहित १२ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्ष पदमा एमालेबाट गोपाल थापा, नेपाली कांग्रेसबाट राजेश कुमार उपाध्याय, माओबादी केन्द्रबाट दिनेश चापागाईं, राप्रपाबाट इजहार खाँ, संघीय समाजबादी फोरम नेपालबाट रामप्यारे यादव, बहुजन समाजबादी पार्टीबाट शालिकराम पासवान, नेपाल लोकतान्त्रिक फोरमबाट राघवेन्द्र चौधरीको उम्मेदवारी परेको छ ।

यस्तै स्वतन्त्रबाट जानकीप्रसाद यादव, छबिलाल यादव, रफिक मोहम्मद मुसलमान, मोहनलाल यादव र मोहम्मद मोबिन खाँले अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् । यसैगरी उपमेयरमा १३ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत थानेश्वर अधिकारीले जानकारी दिएका छन् ।