विराटनगर, ४ असार । दोश्रो चरणअन्तर्गत यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि मोरङमा आज उत्साहका साथ मनोनयनपत्र दर्ता भएको छ ।
विराटनगर महानगरपालिकासहित आठ नगरपालिका र आठ गाउँपालिकामा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका हुन् । विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका छन् । ती मध्येबाट सात जनाले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका हुन् ।
विराटनगर महानगरपालिकाको प्रमुख पदका लागि नेपाली काँग्रेसबाट भीम पराजुली, नेकपा (एमाले)बाट विनोद ढकाल, सङ्घीय समाजवादी फोरमबाट उमेश यादव, राप्रपाबाट प्रह्लाद साह, नेकपा (माले) बाट लीलामोहन राजवंशी, नेपाल समावेशी पार्टीबाट गोपालप्रसाद गिरी, चुरेभावर राष्ट्रिय एकता पार्टीबाट घनश्याम टण्डनले मनोनयन दर्ता गराउनुभएको हो ।
त्यस्तै, स्वतन्त्र उम्मेदवारका रुपमा राजकुमार कार्की, जगतप्रसाद अर्याल, लीलामहत राजवंशी, ताराबहादुर तामाङ, शिव पराजुली र सन्तोष सरकारले प्रमुख पदमा मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा छ स्वतन्त्रसहित ११ जनाले मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा काँग्रेसबाट इन्दिरा कार्की, राप्रपाबाट शोभा श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) बाट नमिता न्यौपाने, नेकपा(माले) बाट पाण्डव पासवान, लोकतान्त्रिक फोरमबाट सूची चौधरीले मनोनयन दर्ता गराउनुभएको छ भने स्वतन्त्रबाट उत्तम ढुङ्गेल, मुन्ना खान, श्यामप्रसाद घिमिरे, कुर्वान मियाँ, खुशीलाल यादव र विनोदकुमार यादवले पनि मनोनयन दर्ता गराउनुभएका छन् ।
यसैबीच, एमालेले विजयकुमार गच्छदारको नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीका उपप्रमुख पदका उम्मेदवारलाई र फोरम लोकतान्त्रिक पार्टीले एमालेका प्रमुख पदका उम्मेदवारलाई सघाउने भएका छन् । यस्तै माओवादी केन्द्रले सङ्घीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवारलाई र सङ्घीय समाजवादीले माओवादी केन्द्रका उपप्रमुख पदका उम्मेदवारलाई सघाउने सहमति गरेका छन् ।
विराटगर महानगरपालिकाका १९ वटै वडाका वडाअध्यक्षसहित सदस्यका पदका लागि मुख्य राजनीतिक दलका उम्मेदवारका साथै स्वतन्त्र उम्मेदवारले उत्साहजनक रुपमा मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय परिसरमा अपराह्न ४ बजेभित्र प्रवेश गर्ने व्यक्तिले मनोनयन दर्ता गराउने सक्ने कानुनी प्रावधान रहेकोमा साँझ ६ बजेसम्म मनोनयन दर्ता गराउनेको घुइँचो लागेको थियो । मनोनयन दर्ता गराउनेको घुइँचो लाई हेर्दा विराटनगर महानगरपालिकामा थप मनोनयनपत्र दर्ता हुने सम्भावना रहेको छ । रासस
प्रतिक्रिया