विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्धारा मेचि बन्द


रविन भट्टराई, ताप्लेजुङ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आवहान गरेको मेचि बन्दको कारण मेचिका चार जिल्लाको जनजिवन विहानै देखि प्रभावित बनेको छ । आफ्नो केन्द्रीय सदस्य तथा मेची ब्यूरो संयोजक सुमन लिम्बू सहित ३ नेतालाई गिरफ्तार गरेको विरोधमा मेची अञ्चलका चार जिल्ला बन्दको घोषणा गरेको सो पार्टीले जनाएको छ ।

जेष्ठ ३१ गते अपह्रान्न झापाको गरामनीबाट मेची ब्यूरो संयोजक सुमन लिम्बू, मेची व्यूरो सदस्य तथा झापा सेक्रेटरी तारा थापा र मेची ब्यूरो सदस्य डिल्लीकुमार मैनाली लाई प्रहरीले पक्राउ गरेको थियो ।

आफ्ना कार्यकर्तालाई बिना कारण, बिना पक्राउ पूर्जी गिरफ्तार गरेकोले मेचि बन्दको आवाहान गरीएको सो पार्टीका ताप्लेजुङ ईन्चार्ज आशिसले बताए । बन्दको कारण ताप्लेजुङ सहित पाँचथर, ईलाम र झापाबाट लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् भने बजार, शिक्षण संस्था र कलकारखानामा पनि बन्दको प्रभावमा परेका छन् । यता ताप्लेजुङबाट झापाको बिर्तामोड जाने केहि यात्रुबहाक सवारीसाधन प्रहरीले स्कटिङ गरी पठाएको प्रहरीले बताएको छ ।

सो पार्टीले हिजो प्रेस विज्ञप्ति प्रकाशित गर्दै आफ्नो नेता तथा कार्यकर्तालाई रिहाई नगरिए, सशक्त आन्दोलनका साथै अनिश्चितकालिन बन्दसम्मका कार्यक्रम घोषणा गर्ने बताएको छ ।