नवलपरासी, १ असार । नवलपरासीसहित सीमावर्ती सुरक्षा निकायका प्रतिनिधिबीच दुवै देशका नागरिकलाई सहजरुपमा सीमा वार पार गर्न दिने सहमति भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिकाअन्तर्गत भारतसँग जोडिएको शीतलापुर नाकामा सीमा क्षेत्रमा रहेको नेपाल र भारतका सुरक्षा निकायका प्रतिनिधिबीच बुधबार यस्तो सहमति भएको हो ।
भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सीमामा आवतजावत गर्नेलाई दुव्र्यवहार गर्न थालेपछि नेपाली प्रशासनको पहलमा सो सहमति भएको हो ।
शीतलापुर नाकामा एसएसबीका जवानले नेपाल–भारत सीमामा आवतजावत गर्न चाहने जोसुकैलाई पनि विभिन्न बहानामा दुव्र्यवहार गर्ने अनावश्यक दुःख दिने क्रम बढेपछि दुवैतर्फ समस्या उत्पन्न भएको थियो ।
नवलपरासीको सीमामा रहेको शीतलापुर एसएसबी क्याम्पका जवानले मङ्गलबार एक निर्दोष नेपालीलाई निर्घात कुटपिट गरेपछि उत्पन्न तनावका कारण एसएसबीले सीमामा आवतजावत बन्द गराएको हो ।
मङ्गलबार बेलुका भारततिर जान लागेका साविकको बसहिया गाविस–६ का ४० प्रद्युम्न यादवलाई शीतलापुरका एसएसबी जवानले कुटपिट गर्दै क्याम्प लगेको र बचाउन पुगेका उहाँका भाइ सञ्जु यादवलाई पनि एसएसबीले कुटपिट गरेको स्थानीय बासिन्दाले बताएका छन् । रासस
प्रतिक्रिया