भीमदत्तनगर, १ असार । जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरले आगामी असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ ।
यहाँका नौवटै तहमा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयबाट मनोनयन फाराम वितरणदेखि मतदाता नामावली प्रमाणितलगायतका काम भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकारी केशवसिंह भण्डारीले निर्वाचनका लागि मतपेटिका, मतपत्रसमेत निर्वाचन आयोगले पठाइसकेको जानकारी दिनुभयो । उहाँले जिल्लाभरका मतदान केन्द्रमा पुग्नेगरी मतपेटिका आइपुगेको जानकारी दिनुभयो । “४५७ थान मतपेटिका अहिले आएका छन् ।” उहाँले भन्नुभयो – “डेढ सयभन्दा बढी मतपेटिका हामीसित मौज्दात थियो ।” उहाँले सबै तहका वडामा मतदाता शिक्षा कार्यक्रमसमेत जारी रहेको जानकारी दिनुभयो ।
त्यसैगरी निर्वाचन आयोगले जिल्लाका सबै मतदान केन्द्रमा मतपत्रलगायतका निर्वाचन सामग्री बढाउनसमेत आवश्यक प्रक्रिया पूरा गरिसकेको जनाएको छ । “हामीले मतपत्र कुन मतदान केन्द्रमा कति पठाउने भनेर छुट्याएर, शिलबन्दी गरेर राखिसकेका छौँ” – जिल्ला निर्वाचन अधिकारी भण्डारीले भन्नुभयो ।
कञ्चनपुरमा सातवटा नगरपालिका र दुईवटा गाउँपालिका रहेका छन् । निर्वाचन सम्पन्न गर्न सदरमुकाम भीमदत्तनगरका मुख्य निर्वाचन कार्यालयसहित सबै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । रासस
प्रतिक्रिया