विषाक्त खाजाले चारजना सिकिस्त


गाईघाट (उदयपुर), १ असार । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा एउटै घरपरिवारका चारजना विषाक्त खाजा खाँदा सिकिस्त बिरामी परेका छन् ।

यसरी बिरामी पर्नेमा लाफागाउँकी ३० वर्षीया साबित्रा खत्री, १२ वर्षीया छोरी चित्रकला खड्का, १० वर्षीया छोरी कविता खड्का र ८ वर्षीय छोरा कवीन्द्र खड्का रहेको कुरा लाफागाउँका स्थानीय राजन खत्रीले बताउनुभयो ।

सोमबार गाउँको एक स्थानीय पसलमा चाउचाउ किनेर ल्याएर चार पाकेट चाउचाउ पकाएर खाएपछि घरका चारै जनालाई पखाला लाग्ने र बान्ता आउने जस्ता घटना हुन थालेको स्थानीयवासी खत्रीले बताउनुभो ।

बिरामी परेका चारै जनालाई तत्काल स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि राखिएको तर स्वास्थ्य चौकीमा उपचार हुन नसकेर बिरामीको अवस्था जटिल बन्दै गएपछि अहिले जिल्ला अस्पताल उदयपुरमा राखेर चारै जनाको उपचार भइरहेको कुरा जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

अहिले आमा र ठूली छोरीको अवस्था सामान्य रहेको र दुई छोरीको स्वास्थ्य अबस्था अलिक जटिल रहेपनि सुधार भने भइरहेको कुरा जिल्ला अस्पताल उदयपुरका प्रमुख डा फणिन्द्र बरालले बताउनुभयो ।

बिरामीको उपचार तीव्ररुपमा भइरहेका कारण स्वास्थ्यमा सुधार आएकाले जिल्लाबाहिर भने लानु नपर्ने कुरा पनि डा बरालले बताउनुभएको छ ।

जिल्लाको पहाडी क्षेत्रको फोक्सिङटार, सल्ले, रसुवा तथा लाफागाउँ जस्ता क्षेत्रमा बढी म्याद नाघेका खाद्य वस्तुहरु व्यापारीले मनपरी बिक्री गर्ने गरेका कारण पनि चाउचाउ खाँदा चारजना बिरामी परेको स्थानीयवासीको दाबी छ । रासस