आम हडतालले सीमावर्ती बजार ठप्प


इलाम, १ असार । भारतको दार्जिलिङमा आम हड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो ।

गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आम हडतालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आम हडतालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प भएका हुन् ।

भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेको सीमावर्ती बजारमा हडतालका कारण पूर्णरूपमा प्रभाव परेको छ । भारतीय हड्तालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजस्व सङ्कलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताउनुभयो ।

भारतीय सवारीसाधन नेपालतर्फ गुड्नका लागि दैनिक २५ वटा सवारीसाधनले अस्थायी पैठारीका लागि राजस्व काट्ने गरेपनि आम हडताल भएपछि ठप्प भएको छ । हडतालयता दैनिक १५० भन्दा बढी भारतीय सवारीसाधनमार्फत पशुपतिनगर व्यपारिक केन्द्रमा आउने पर्यटक र उपभोक्ता बजार आएका छैनन् । पशुपतिनगरमा दैनिक भारु २० लाखको कारोबार हुने गरेपनि अहिले रु २० हजारको पनि कारोबार नभएको व्यापारी बताउँछन् । दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् ।

सीमा क्षेत्रमा उत्पादन भएको तरकारी भारतीय बजार दार्जिलिङमा जाने गरेपनि अहिले बन्द भएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको हो । नेपालको तरकारी दैनिकरूपमा भारततर्फ निकासी हुने गरेपनि एक सातादेखि निकासी ठप्प हुँदा किसान समस्यामा परेको भन्सार प्रमुख पोखरेल बताउनुहुन्छ ।

सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । सीमा क्षेत्रका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जमुना, जोगमाई क्षेत्रका किसान बढी मारमा परेका छन् । रासस