हावाहुरीले विद्यालयको छाना उडायो


जाजरकोट, १ असार । त्रिवेणी नलगाड नगरपालिका–७ स्थित जनविकास आधारभूत विद्यालयको छाना हावाहुरीले उडाएपछि समस्या भएको छ । गएराति आएको हावाहुरीले यहाँका तीनवटा विद्यालयमा छाएको टिनको छाना सबै उडाएपछि पठन पाठनमा समस्या आएको प्रधानाध्यापक गोरखबहादुर शाहले बताउनुभयो ।

शाहका अनुसार छाना पूरै उडाएको छ, बिहान विद्यार्थी खुल्ला आकाशमा पढ्न बाध्य भएका छन् । हावाहुरीले विद्यालयको कार्यालय सञ्चालन गरेको कोठामा समेत व्यापक क्षति भएको छ । विद्यार्थी आकाश हेर्दै पढ्दै गरेको शाहले बताउनुभयो । विद्यालयमा रु एक लाखभन्दा बढीको क्षति भएको उहाँले बताउनुभयो । रासस