खानेपानी आयोजनाले गाउँमा ल्यायो खुसी


अजिरकोट (गोरखा), १ असार । विगत लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका गोरखा अजिरकोट गाउँपालिका–५ मुच्चोक मानेगाउँका स्थानीयवासी खानेपानीको धारा गाउँमै बनेपछि खुसी भएका छन् ।

गाउँ नजिकै रहेको पानीको स्रोत ‘गोरखा भूकम्प’ले सुकेपछि डेढ घन्टा टाढाको दूरीमा पुगेर पानी ओसार्दै आएका स्थानीयवासी खानेपानी आयोजना सम्पन्न भई गाउँमै सहज पानी भर्न पाउँदा खुसी छन् ।

आयोजनाबाट ३५ घरधुरीका १९१ जना प्रत्यक्षरुपमा लाभान्वित भएका छन् । करिब ३८ सय मिटर टाढाको मुहानबाट पाइपमार्फत गाउँमा खानेपानी ल्याएर पाँचवटा सामुदायिक धारा बनाइएको उपभोक्ता समितिका अध्यक्ष क्षेत्रबहादुर मगरले बताउनुभयो । आयोजनाको निर्माण गर्न रु २२ लाख ९४ हजार ५६६ लगानी गरिएको हो । गाउँमा खानेपानीको सहज पहुँच नहुँदा मानेगाउँका बासिन्दा बसाइँ सर्न थालेका थिए ।

बेलायती दातृ संस्था डिएफआइडीको आर्थिक सहयोगमा केयर नेपालले गोरखाको एकीकरण नेपालसँगको साझेदारीमा मानेगाउँमा खानेपानी आयोजना निर्माण सम्पन्न गरेको हो । आठ महिना अवधिमा आयोजना निर्माण भएको हो । मुहान र गाउँ नजिकै ट्याङ्की बनाएर पाँचवटा धारामार्फत गाउँलेले खानेपानी उपभोग गर्दै आएका छन् । आयोजना निर्माणका लागि छिमेकी गाउँबाट अवरोध भएपनि अन्तिम समयमा गाउँलेलाई खानेपानी उपलब्ध गर्न सबै सहमत भएका थिए ।

आयोजना निर्माणको काममा सक्रिय केयर नेपालका इन्जिनियर हरिकृष्ण आचार्यका अनुसार स्थानीय बासिन्दाको सक्रिय सहयोग र सहभागितामा तोकिएको समयमै आयोजना निर्माणको कार्य सम्पन्न भएको हो ।

उहाँले भन्नुभयो, “मानेगाउँमा खानेपानीको समस्या रहेको हामीले जानकारी पाएपछि जोखिम मोलेर भएपनि आयोजना पूरा गरिछाड्यौँ ।” खानेपानी आयोजना पूरा भएपछि गाउँलेले फुर्सदको समय सदुपयोग गरी तरकारी खेती गर्ने बताएका छन् । स्थानीय गृहिणी इन्द्रमाया राना मगरले डेढ÷दुई घन्टा धाएर पानी ओसार्नुपर्ने बाध्यता अन्त्य भएकोमा गाउँले खुसी भएको जानकारी दिनुभयो । रासस