राष्ट्रपति भण्डारी जेनेभा प्रस्थान, ‘वर्ल्ड अफ वर्क समिट’ मा प्रमुख वक्ता



नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सम्मेलनमा सहभागी हुन स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) १०६ औं सेसन अन्तर्गतको एक बैठक अन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’ मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उक्त सेसनका तीन प्रमुख वक्तामध्ये एक राष्ट्रपति भण्डारीले नेपालको संविधानद्वारा महिला हकहित र श्रममा हासिल उपलब्धिबारे बोल्ने कार्यक्रम छ । पछिल्लो समय नेपालले महिला नेतृत्वमा हासिल गरेको उपलब्धि र महिला राष्ट्रपतिका नाताले भण्डारीलाई आईएलओले निमन्त्रणा गरेको बताइएको छ । अन्य दुई मुलुकका राष्ट्रपति मरिससकी अमिनाह गउरिव–फाकी र माल्टाकी मेरी लुइस कलेरो–प्रेसा पनि उक्त सम्मेलनका प्रमुख वक्ता छन् ।

नेपालले श्रम संगठनको गभर्निङ बोर्डमा सहभागिताको निर्वाचन जितेको भोलिपल्ट उनी त्यसतर्फ लागेकी हुन् । राष्ट्रसंघभन्दा जेठो संस्था आईएलओको गभर्निङ बडीमा नेपालले पहिलो पटक सरकारीस्तरबाट उम्मेदवारी दिने र नेपालले आइएलओको धेरै पक्षमा हस्ताक्षर समेत गरेकाले नेपालबाट उनलाई निम्त्याइएको हो ।

यस्तो सम्मेलनमा नेपालबाट पहिलो पटक राष्ट्रप्रमुख सहभागी हुन लागेकी हुन् । राष्ट्रपति सहभागी हुने भएकाले नेपालले भोटका लागि पहल भएको र नेपालले गर्भनिङ बोर्डको ‘डेपुटी मेम्बर’मा सफलता हात पारेको जेनेभा स्थित नियोगले जनाएको छ । राजदूतले सरकारको प्रतिनिधिका रूपमा राष्ट्रपतिको उपस्थितिलाई महत्त्व दर्शाए पनि उनी श्रमिकसम्बन्धी काम गर्ने संगठनको लबिइङमा त्यसतर्फ जान राष्ट्रपति तयार भएकी हुन् ।

राष्ट्रपति भएपछि यो तेस्रो विदेश भ्रमण हो । उनको दुई भ्रमण राजकीय र औपचारिक थियो । तर, यो भ्रमण भने उनको सम्मेलनमा सहभागिता रहने र प्रमुख वक्ताको रुपमा धारणा राख्नेको लागि उपयोगी छ । भण्डारीले जारी संविधानले श्रम र महिला हकबारे गरेको संरक्षण, उदारता लगायतको विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । । उक्त संगठनको अघिल्लो वर्षको सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई त्यस्तै प्रकारको भ्रमण पहल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्