सडकबाट आश्रममा


हेटौंडा, (नेस) । हेटौंडा–१ स्थित जिल्ला प्रहरी कार्यालयअगाडि सडकमा अत्यन्त विक्षिप्त अवस्था रहेका एक सडक मानवको उद्धार गरी मानव सेवा आश्रममा ल्याइएको छ । करिब ४० वर्षका कम्मरभन्दा तलको भाग नचल्ने, मानसिक स्थिति अत्यन्त कमजोर भएका बिनोद न्यौपानेको उद्धार गरिएको हो ।
हेटौंडा–११, नवलपुर घर बताउने उनको उद्धार गरिएको हो । उनको उद्धार गरी मानव सेवा आश्रम हेटौंडा–४, कर्रामा ल्याइएको हो । उद्धार कार्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले सहयोग गरेको थियो ।
विभिन्न कारणबाट सडकमा कष्टकर जीवनयापन गर्न विवस सडक मानवको सेवा गरी २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त देश बनाउने उद्धेश्यले सञ्चालित आश्रमको सेवा हाल ८ जिल्लामा सञ्चालित छ ।
विभिन्न जिल्लाबाट उद्धार गरी आश्रम मुख्य कार्यालय हेटौंडा ल्याउने गरेको छ । शर्तसहित कसैको पनि सहयोग नलिएर मानवीय भावनाले ओतप्रोत दाताको सहयोगमा आश्रम सञ्चालित छ ।