अख्तियारले नासुलाई समात्यो


नेपाल समाचारपत्र, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपालगञ्जस्थित भूमि सुधार कार्यालयमा छापा मारेको छ ।
मालपोत कार्यालयका तीन जना कर्मचारीलाई चार लाख ९८ हजार रुपैयासहित नेपालगञ्जको एक रेष्टुरेन्टबाट नियन्त्रणमा लिएको भोलीपल्टै बुधबार अख्तियारको टोलीले भूमि सुधार कार्यालयका एक नासुलाई २० हजार रुपैयासहित पक्राउ गरेको हो ।
अख्तियार कार्यालय, कोहलपुरका शाखा अधिकृत नारायणदत्त उपाध्यायका अनुसार, भूमि सुधार कार्यालय, बाँकेका नासु शैलेन्द्रकुमार कर्णलाई सेवाग्राहीसँग २० हजार घुस लिदालिदै रंगेहात पक्राउ गरिएको छ । नासु कर्णले मोही जग्गा बाँडफाँड गर्ने प्रयोजनका लागि विभिन्न बहानामा घुस मागेको उजुरी आएपछि अख्तियारले छापा मारेको उपाध्यायले बताउनुभयो । अख्तियारले नासु कर्णलाई भूमि सुधार कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो ।

अख्तियारले सेवाग्राहीको चाप हुने बाँकेका सबैजसो कार्यालयमा छापा मारेर सफलता प्राप्त गरेको छ । त्यसमा पछि परेको मोही किसानको भीडभाड रहने भूमि सुधार पनि मिसिएको छ । अख्तियारले यसअघि जिल्ला वन, जिल्ला प्रशासन, मालपोत, नेपालगञ्ज उमहानगरपालिका, नापी, कोसेबाली विकास कार्यालयमा अख्तियारले छापा मारेको छ । उसले भेरी अञ्चल अस्पताल र पप्पु कन्ट्रक्सनको पनि फाइल तानिसकेको छ ।
लामो समयसम्म बीचमा ‘सेलाएको’ अख्तियार फेरि जागेको छ । अख्तियारले लगातार दुई दिनमा दुई कार्यालयका चार कर्मचारीलाई आफ्नो पञ्जामा पारेपछि कर्मचारीहरुमा खैलाबैला मच्चिएको छ । अख्तियारको अनुसन्धान र कारबाही प्रक्रिया फितलो र आफू तारगेट पर्ने डरले कतिपय सेवाग्राहीले मर्कामा परेपनि बाहिर ल्याउन नचाहने सम्बद्धहरु बताउँछन् । अख्तियारले पनि सेवाग्राहीले सहयोग नगर्दा धेरै सफलता पाउन नसकेको स्वीकार्ने गरेको छ । सेवाग्राही या दुश्मनीमा उत्रिएकाले अख्तियारलाई प्रयोग गर्ने गरेको कतिपय कर्मचारीहरु बताउँछन् ।