सरकारले उपलब्ध गराउने रकमले किताब किन्न पनि पुग्दैन

0
Shares

भगवती तिमल्सिना, काभ्रे
राज्यले लिएको शिक्षा नीति सबैलाई शिक्षा भन्ने अवधारणाअनुसार कार्यान्वयन पक्ष अत्यन्तै फितलो र झारा टार्ने खालको भएको छ। व्यवहारिक पक्षमा भएका कमी कमजोरीकै कारण निःशुल्क शिक्षा भए पनि सरकारी विद्यालयको अवस्था हेर्दा अत्यन्तै दयनीय अवस्था छ। सरकारी विद्यालयमा सा–साना बच्चाका लागि शिशुकक्षा भनी दातृ निकायको सहयोगमा कतै–कतै चलेको पाइन्छ। तर, हरेक क्षेत्रमा रहेका विद्यालय र बालबालिकाका लागि खोई त शिशु कक्षा ?

यतिमात्र हैन सरकारी विद्यालयले शिशु कक्षा, नर्सरी, केजीलाई सरकारले बच्चा नै मान्दैन (गणना नै नगर्ने) र एकैपटक कक्षा १ देखि गणना गरी किताब निःशुल्क भनि छुट्याएको बजेट अझ हास्यास्पद भएको धुलिखेल नगरपालिकाको मुटुमा रहेको पञ्चकन्या निम्नमाध्यमिक आधारभूत विद्यालयका शिक्षक–शिक्षिकाहरू बताउँछन्। नेपाल सरकारले नै स्वीकृति दिई निजी क्षेत्रबाट छपाइएका एउटै पुस्तकको मूल्य ३ सय २० रुपियाँसम्म पर्छ भने पुरा पुस्तकको मूल्य एक जना विद्यार्थी बराबर १ हजार १ सयभन्दा बढी पर्ने गर्छ। सरकारले पुस्तकका लागि भनेर ३ सय रुपियाँ दिन्छ अब कसरी निःशुल्क भयो ? सरकारले शिक्षामा गरेको लगानी कनिका छराई भएको छ विद्यालय व्यवस्थापन समितिका बुद्धिजीवी सदस्य दामोदर गौतम भन्नुहुन्छ।

यस्तै कारणले गर्दा विगतमा पञ्चकन्यामा विद्यार्थी संख्या झण्डै–झण्डै शिक्षक बराबर होला भन्ने डर भइसकेको अवस्थामा भूकम्पपछि बनेको नयाँ व्यवस्थापन समितिले हदैसम्म पहल गरी दातृ निकाय, व्यक्ति या संघ–संस्थासँग हारगुहार गरेर अहिले विद्यार्थीको संख्या ह्वात्तै बढाएको विद्यालयका प्रधानाध्यापक श्रीमान् कर्माचार्य बताउनुहुन्छ। यस विद्यालयमा सरकारको गणनामै नआउने ३ वटा कक्षा हेल्प नेपाल नेटवर्कको सहयोग ४ जना निजी स्रोतका शिक्षक र पुस्तकका लागि आवश्यक सहयोग पाएकै कारण अत्यन्तै राम्रोसँग सञ्चालनमा ल्याइएको सदस्य गौतम बताउनुहुन्छ। हेल्प नेपालका आवासिय विद्यार्थी समेत यस विद्यालयमा अध्ययन गरिरहेको उहाँले बताउनुभयो।

यतिबेला अंग्रेजी माध्यमबाट बढाई हुनुपर्ने समयको माग भइसकेको अवस्थामा सरकारको सुस्तता र विद्यालय शिक्षामा गरिएको लगानी शिक्षकको तलब भत्तामा मात्र केन्द्रित हुनु र आवश्यकताअनुसारको दरबन्दी नहुनु, भएकाको पनि अनुगमन मूल्यांकन नहुनुजस्ता कारणले सरकारी विद्यालय सञ्चालनमा निकै कठीनाइ भइरहेको विद्यालय व्यवस्थापन समितिको ठम्याई रहेको छ। पञ्चकन्यामा राहतकोटा २ जनासम्म गरी जम्मा ८ जना शिक्षक शिक्षिका सरकारको मातहतमा छन् भने ४ जना निजी स्रोतबाट राखिएको प्रधानाध्यापक कर्माचार्य बताउनुहुन्छ।

सरकारी विद्यालय सञ्चालनमा सरकारको नैराश्यता हेर्ने हो भने कागजीरूपमा नीति भए पनि कार्यान्वयनमा नल्याउँदाका थुप्रै समस्यामध्ये सरकारी विद्यालय र निजी विद्यालयको दूरी कति हुने भन्ने कुराको पालना नगराइनु अर्को जटिल समस्या रहेको छ। यतिमात्र नभई सरकारको फित्तलोपना हो या पहुँचको पछाडि दौडिएर हो निजी विद्यालयलाई खुला शिक्षाको व्यापार गराउने र सरकारीलाई उपेक्षा गर्ने गरेको गौतम औंल्याउनुहुन्छ।

पञ्चकन्याको प्रयास र लगनशीलता जस्तै अन्यत्र पनि हुनुपर्ने कुरामा जोड दिँदै गौतम भन्नुहुन्छ– ‘गरिब जनताका छोराछोरीलाई समय सान्दर्भिक गुणस्तरीय शिक्षा निःशुल्करूपमा उपलब्ध गराउने लक्ष्यका साथ लागि परेका छौं।’
विगत २६ वर्षदेखि पञ्चकन्यामा नै पढाउँदै आउनुभएका कर्माचार्य शिक्षक हुँदा र प्रधानाध्यापक हुँदाको जिम्मेवारी फरक रहेछ भन्नुहुन्छ। शिक्षक मात्र हुँदा अन्तर विषयवस्तु मात्र हेर्दा पुग्थ्यो। तर, अहिले जिम्मेवारीसँगै इज्जत, सम्मान, चुनौती, गुनासो, सबैलाई समान व्यवहार गर्नुपर्ने रहेछ। अभिभावकहरूलाई समेत साथै लिएर अघि बढेमात्र सफल हुने कुराको सिकाइसँगै अभिभावकका गुनासा र समस्यालाई समेट्दै विद्यार्थीको नियमिततामा ध्यान दिएका छौं। पछिल्लोपटक रामहरि घिमिरेको अध्यक्षतामा बनेको विद्यालय व्यवस्थापन समिति चुस्त र दुरुस्त अत्यन्तै सहयोगी भएकै कारण पनि बोर्डिङ स्कुल सरहको शिक्षा दिने प्रतिबद्धताका साथ अघि बढेका छौं। यतिबेला विद्यार्थी पनि ह्वात्तै बढेका छन्।
‘सानो कक्षा नै विद्यार्थीको जग भएकाले यतिबेला हामी नगरपालिका, दातृ निकाय, शिक्षा कार्यालय सबैसँगको सहयोगमा गुणस्तरीय शिक्षा दिँदै अभिभावकहरूको पूर्णरूपमा साथ लिँदै छौं’ –कर्माचार्य भन्नुहुन्छ। प्रधानाध्यापक भएपछि विद्यालय समयमा कक्षा, प्रशासनिक काम, समन्वय, जस्ता कार्यमा अत्यन्तै व्यस्त हुनुपरेको छ। व्यवस्थापन समितिको पूर्णरूपमा साथ पाएकाले काम गर्न अझ हौसला बढेको पनि उहाँ बताउनुहुन्छ।

यस विद्यालयमा स–साना विद्यार्थीहरूका लागि खेल विधिबाट सिकाइ, मनोरञ्जनका लागि पिङ, ढिकिच्याउँलगायतका खेलले पनि थप आकर्षण गरेको छ। साथै खाजा खाने समयमा शिक्षकशिक्षिकाको निगरानीमा बसेर खानुपर्ने र आवश्यक सहयोग लिनुपरेमा तत्काल उपलब्ध गराउने व्यवस्थाले अरनिको राजमार्ग किनारामा रहेको विद्यालयका विद्यार्थीहरू विद्यालय समय अवधिभर कम्पाउन्डबाहिर जान नपाउने नियम बनाएको सदस्य गौतम बताउनुहुन्छ।