कुलेखानी तेस्रो आगामी आर्थिक वर्षभित्र


हेटौंडा,(नेस)
कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण आगामी आर्थिक वर्ष २०७४⁄७५ भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। आगामी आर्थिक वर्षको बजेटमा निर्माणको अन्तिम चरणमा पुगेको कुलेखानी–३ आगामी वर्ष सम्पन्न हुने घोषणा गरिएको हो। कुलेखानी–३ को काम अन्तिम चरणमा पुगेको बताइएको छ। यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले मकवानपुरको भैंसेस्थित निर्माणाधीन कुलेखानी–३ को काम समयमै सम्पन्न गर्न निर्देशन दिनु भएको थियो।

काठमाडौं–तराई द्रुतमार्गका लागि १० अर्ब १४ करोड विनियोजन गरिएको छ। राष्ट्रपति चुरे संरक्षण आयोजनाका लागि एक अर्ब ९३ करोड विनियोजन गरिएको छ। द्रुतमार्ग र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम विशेष गरी मकवानपुर जिल्ला लाभान्वित भइरहेको छ। धरान–चतरा– कटारी–सिन्धुली–हेटौंडा सडकका लागि ३ अर्ब १५ करोड रुपियाँ छुट्याइएको छ। उक्त ओयोजना तीन वर्षभित्र सक्नुपर्नेछ।