उस्ताद जोशीलाई लाइफटाइम म्युजिक अवार्ड

0
Shares

हेटौंडा, (नेस)। आफ्नो सम्पूर्ण जीवन नै संगीतमा समर्पण गरेका वयोवृद्ध संगीतकार भोला जोशीका औंलाहरु अझै हार्मोनियमका रिङमा नाचिरहेका छन्। ललितपुरको बल्खु, क्वाको टोलमा १९९९ असार १२ गते जन्मिएर मकवानपुरलाई कर्मथलो बनाएका करिब ७५ वर्षीय जोशी यो उमेरमा पनि संगीतको सेवा भनेपछि भुतुक्कै हुन्छन्।

तिनै हेटौंडेली संगीतकार उस्ताद भोला जोशीको सहयोग र सम्मानका लागि हेटौंडामा भोली जोशी सम्मान संगीत साँझ गरिएको छ। हेटौंडाको भुटनदेवी स्कुल चौरमा सम्पन्न कार्यक्रममा जोशीका साथै राष्ट्रिय तथा स्थानीय गायकहरुले गीत–संगीत प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाले जोशीलाई नगद १ लाख र सम्मानपत्रसहित शान्तियात्रा लाइफटाइम म्युजिक अवार्डबाट सम्मानित गरे। कार्यक्रममा बास्कोटा, चेतन सापकोटा, सुजिल कर्माचार्य, प्रमेन्द्र महर्जन र ईश्वर खड्कालगायतले गीत–संगीत प्रस्तुत गरेका थिए। २०२४ सालमा नव कलाकुञ्जको निम्तोमा हेटौंडा आइपुगेका जोशीलाई त्यसपछि कहिल्यै आफ्नो जन्मथलो फर्किन मन लागेन रे। ‘मलाई मकवानपुरमै केही गरौं भन्ने लाग्यो, त्यसैले ललितपुर फर्किनँ’ –उनले भने। दर्जनौं गीतमा संगीत भरेका जोशीका संगीतमा स्व. फत्तेमानदेखि हालका लोकप्रिय गायक राजेशपायल राईसम्मले स्वर अजमाएका छन्। यतिमात्र होइन, उनका चेलाहरू चण्डी काफ्ले, चेतन सापकोटा, शिखर सन्तोषलगायत सबैले नाम कमाएका छन्। उनी भन्छन्– ‘मेरा अनुजहरुको प्रगतिमा म सन्तुष्ट छु।’ तर, उनी आफैं भने यो उमेरमा पनि संघर्षरत छन्।

अहिले उनका औंलाहरु पहिले जस्ता छैनन्, केहीबेर हार्मोनियममा नचाउँदैमा काँप्न थाल्छन्। हिँड्न लागे खुट्टाहरु लर्बराउँछन्। मकवानपुरका गौरव संगीतकार जोशी अहिले अस्वस्थ छन्। उनलाई खुट्टाको समस्याले अझ च्यापेको छ। कसैले सांगीतिक कार्यक्रममा निम्तो दिए पनि उनलाई त्यहाँसम्म पुग्न निकै कठिन हुन्छ। उठेदेखि नसुतेसम्म औषधि साथमा राख्नुपर्छ। तर, आर्थिक अभावका कारण औषधिको जोहो गर्न धौ–धौ छ। सबै औषधि किन्न मासिक ७ हजार जति खर्च हुने गरेको छ। ‘बरु दिनमा एक छाक खान्छु तर, संगीतबिना बस्न सक्दिनँ’ –जोशीले भने। उनी स्वस्थ भएर अझै संगीतको सेवा गर्न चाहन्छन्। उनीद्वारा संगीतबद्ध बिस्र्यो क्यार खाएको कसममा लोचन भट्टराईले, विषलाई पिएर पनि हाँसिरहेछुमा फत्तेमानले र जुनमाया मैले तिमीलाई दिएथेंमा राजेश पायलले स्वर भरेका छन्। आफूद्वारा संगीतबद्ध चर्चित करिब तीस सबै गीत उनलाई अहिले याद छैन।

२०३७ सालमा हे मेरा मित्रहरु गीतमा संगीत भरेर संगीत सेवामा लागेका उनलाई रेडियो नेपालमा गीत रेकर्ड गराउन त्यसबेला साह्रो अप्ठेरो पर्यो। संगीत निर्देशकलाई गीत–संगीत सुनाएपछि ‘माथिको आदेश लिएर’ मात्र गीत रेकर्ड गराउनुपर्ने बाध्यता सुनाउँदै उनले गायक–गायिका, रचनाकार र संगीतकारले ठूलै कसरत गरेपछि मात्र गीत रेकर्ड हुने गरेको सुनाए। २०२१ सालमा सुशीला पाण्डेले उनीद्वारा संगीतबद्ध गीत गाएर नारायणी अञ्चलस्तरीय प्रतियोगितामा पहिलो भएको र पछि उनको गीत रेडियो नेपालमा रेकर्ड गराइएको उनले बताए। त्यही बेला राष्ट्रिय नाचघरमा एकसय रुपियाँ टिकट दर तोकेर सांगीतिक कार्यक्रम देखाइन्थ्यो। जोशी र स्व. भीम विरागबीच निकट सम्बन्ध थियो। ‘हामी दाजुभाइ जस्तै थियौं’ –जोशीले तत्कालीन कार्यक्षेत्र फरक भए पनि केही समयपछि दुवै जना स”गै संगीत क्षेत्रमा रमाउन थालेको सम्झिए। ‘रेडियो नेपालले क्यासेट नै हराइदियो कि क्या हो’ –उनले भने।

जोशीलाई यहाँका युवा गायक महासत्व वज्राचार्यले बेला–बेलामा सहयोग गर्ने गरेका छन्। उनले जोशीलाई आवश्यक औषधि किनेर घर पुर्याई सहयोग गरिरहेका छन्। उनी हाल हेटौंडा–९ स्थित सामान्य घरमा जीवन बिताइरहेका छन्।