भक्तपुरमै ट्रायल सेन्टर राख्नुपर्ने माग


पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरलगायतका पूर्वी जिल्लाबासीलाई सर्वसुलभरूपमा सवारीचालक अनुमतिपत्र दिने उद्देश्यले कार्यालय खुलेको ६ महिना बितिसक्दा पनि प्रयोगात्मक (ट्रायल) परीक्षा शुरु नहुँदा सेवाग्राही मारमा परेका छन्। कार्यालयले जिल्लामै ट्रायल सेन्टरको व्यवस्था गर्न नसक्दा सेवाग्राही समस्यामा परेका हुन्।

यतिका समय बित्दासमेत ट्रायल परीक्षा लिने स्थानको टुंगो नलाग्दा भक्तपुरमा सवारीचालक अनुमतिपत्रका लागि निवेदन दिनेले सातामा एक⁄दुई दिन मात्र काठमाडौंमा गएर ट्रायल परीक्षा दिनुपर्ने बाध्यता रहेको छ।

दैनिक ३ सयको संख्यामा सेवाग्राही आउने गरे पनि ट्रायल दिने स्थानको अभावमा कार्यालयले दुई पांग्रेको सातामा दुई दिन गरेर ८ सय ५० र चार पाग्रेंको सातामा एक दिनमा २ सय ५० जनालाई मात्र सहभागी गराउँदै आएको छ।

कार्यालय प्रमुख अनोज घिमिरेका अनुसार, ट्रायल नभएर समस्या परेको भन्दै दिनहुँ दर्जनौं सेवाग्राही गुनासो गर्न आउने गर्छन्।

सर्वोच्च अदालतले सेवाग्राहीबाट रकम उठाएर ट्रायल सेन्टर सञ्चालन नर्गन यातायात व्यवस्था विभागलाई अन्तरिम आदेश दिएपछि विभागले ट्रायल सेन्टर भाडामा लिन नसकेको हो।

यद्यपि सेवाग्राहीलाई थप भार नपर्ने गरी सित्तैमा ट्रायल सेन्टर दिन व्यवसायीहरू तयार भए पनि विभागका महानिर्देशक रूपनारायण भट्टराईका कारण सेवाग्राहीले समस्या झेल्नुपरेको स्रोतले बताएको छ।
वैशाख ७ सूचना प्रकाशित गरी जगातीस्थित कार्यालयले निःशुल्क ट्रायल सेन्टर माग गर्ने बोलपत्रको सूचना प्रकाशित गरेको थियो। बोलपत्र तीन जनाले भरे पनि विभागका महानिर्देशकले तत्काल सो कार्य अघि नबढाउन निर्देशन दिएका कारण त्यतिकै थन्किएको छ।

सवारीचालक अनुमपतिपत्रमा सेवाग्राहीले धेरै दुःख पाएको समाचार सार्वजनिक भएपछि यातायात मन्त्री रमेश लेखकको अग्रसरतामा उपत्यकाका चार स्थानमा कार्यालय खुलेका थिए। मन्त्री लेखकले सर्वसाधारणलाई सहज हुने गरी छिटो ट्रायल सेन्टरको व्यवस्था गर्न निर्देशन दिए पनि महानिर्देशकको कार्यशैलीले सर्वसाधारण समस्यामा परेका हुन्।

सीमित संख्यामा मात्र परीक्षा दिन पाउने भएपछि टोकन लिन रातिदेखि लाइन बस्नुपरेको भन्दै सूर्यविनायक–४ दधिकोटका श्याम भट्टराईले कार्यालय नजिकै खुले पनि समस्या जस्ताको त्यस्तै भएको गुनासो गरे। जिल्लामै ट्रायल गर्ने व्यवस्था नहुने हो भने कार्यालय खोल्नुको औचित्य नरहेको भट्टराईको भनाइ थियो।

सँगै स्थापना भएका काठमाडौंको सानो भर्याङ र चावहिलले यसअघि नै ट्रायल सेन्टर भाडामा लिएर सञ्चालनमा ल्याए पनि भक्तपुरमा दुई पटकसम्म टेन्डर गर्दा पनि कार्यालयले अझै ट्रायल सेन्टर व्यवस्था गर्न सकेको छैन। ट्रायल सेन्टरको व्यवस्था नहुँदा अप्ठेरोमा परेको सेवाग्राहीको भनाइ छ।