किशोरीले बदले पुरातन सोच


टीका बन्धन ,काठमाडौं
महिनावारी (रजस्वला) भएको समयमा सिन्धुलीको ग्रामिण भेग सिरथौलीको अरुणोदय माविकी छात्रा सविना गौतमलाई अभिभावकले गाईको दूध र आफ्नै खेतवारीमा फलेका फलखान अनुमति दिदैनथ्यो । सविनाकी संगी रविना बुढाथोकीलाई समेत अभिभावकले सहज रुपमा घर मात्र होइन, भान्सामा समेत प्रवेश गर्न रोक लगाएको थियो । तर एक वर्षयता सिरथौलीमा व्याप्त त्यस्तो विभेद हटेको छ ।

सामान्य अवस्थामा आफूले चाहेका कुरा व्यक्त गर्न हिचकिचाउने त्यहाँका किशोरीहरु महिनावारीलाई अछुत व्यवहार गर्ने समाजका विरुद्ध दिल खोलेर कुरा गर्न सक्ने भएका छन्, आफूजस्तै अन्य किशोरीहरुलाई लाज र डर हटाउन आग्रह गर्न थालेका छन् । त्यति मात्र होइन, महिनावारीको समयमा अपनाउनुपर्ने सरसफाईका कुरा पनि अन्यलाई सिकाउन दक्ष भएका सविना, रविना सामान्य अवस्थामा झैं घर व्यवहारको काम सघाइरहेका हुन्छन् ।

खानेपानी र सरसफाईको क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वाटरएडले महिनावारीबारेको सचेतना सहित आधारभूत फोटोग्राफीको तालिम दिएपछि गौतम, बुढाथोकी सहित मनिसा कार्की र उनीहरुका साथीसंगीले पुरातन सोच र व्यवहारमा परिवर्तन ल्याए । महिनावारीको समयमा रुख विरुवा छुँदा बोट विरुवा मर्छन्, सुक्छन् भन्ने अन्धविश्वास समेत उनीहरुले तोडेका छन् ।
रजस्वलाको समयमा घर र समाज भित्र दविएर रहनुपर्दैन, हरेक महिला र किशोरीहरुले हरेक महिना अनुभूूत गर्ने प्राकृतिक र नियमित चक्र हो भन्ने कुरा बुझाउन सक्षम भएका छन् । आफ्नो घर परिवार अनि समाजमा व्याप्त राम्रा नराम्रा कुरा फोटोग्राफी मार्फत कसले उत्कृष्ट ढंगले पस्कन सक्छ भन्ने उनीहरु वीचमा प्रतिस्पर्धा नै भएको थियो । आफ्नै छोरीहरुको उत्कृष्ट सिर्जना सहितको प्रदर्शनी केही समय अघि विद्यालय परिसरमा आयोजना गरिएपछि अभिभावक समेत आफूहरु समय सापेक्ष हुनुपर्छ, कुसंस्कार तोड्नुपर्छ भन्नेमा प्रष्ट भएपछि त्यहाँको समाज बदलिन थालेको हो ।

वाटर एडकी सरसफाई कार्यक्रम संयोजक सन्ध्या चौलागाईँ र उनकी समकक्षी प्रिज्मा घिमिरे भन्छन्–‘सिरथौलीमा माहिनावारीलाई एक वर्ष अघिसम्म पुरातन ढंगले बुझिन्थ्यो, अहिले प्रष्ट रुपमा परिवर्तन महसुस गर्न सकिन्छ ।’ नेपालमा हरेक महिना १ करोड ४३ लाख महिला तथा किशोरीहरुले महिनावारी अनुभूत गर्ने सरसफाईका क्षेत्रमा क्रियाशिल संघ÷संस्थाहरुको आंकलन छ ।

समाजमा व्याप्त अन्धविश्वास र सुविधायुक्त शौचालयको अभावमा करिव २१ प्रतिशत किशोरीहरु महिनावारीको समयमा विद्यालयमा अनुपस्थित रहने अवस्था रहेको बताइन्छ । वाटरएडको केही महिना अघि उदयपुर केन्द्रित अध्ययन अनुसार करिव ४१ प्रतिशत छात्रा महिनावारीको समयमा विद्यालयमा अनुपस्थित भएका थिए । सो संस्थाकी सरसफाई कार्यक्रम संयोजक सन्ध्या चौलागाईँ भन्छिन्–‘के कारणले महिनावारी हुन्छ, किन हुन्छ, कहिलेसम्म हुन्छ भन्ने कुरा धेरै किशोरीहरुलाई थाहा नभएको पाएका छौ ।’

OLYMPUS DIGITAL CAMERA

पछिल्लो अवधिसम्ममा ८१ दशमलव ६ प्रतिशत सार्वजनिक विद्यालयमा मात्र छात्रा मैत्री शौचालयको सुविधा रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ । एक शौचालयले ५० विद्यार्थीको चाप धान्न व्यवहारिक हुने सो मन्त्रालयको तथ्यांक सबै ठाउँका लागि व्यवहारिक छैन । शिक्षा मन्त्रालयको पछिल्लो तथ्यांकलाई नियाल्दा अहिले एउटा शौचालयले ६७ विद्यार्थीको चाप धान्नुपर्ने अवस्था छ । शौचालयको सुविधा भएका विद्यालयमा पनि सरसफाईका लागि आवश्यक पानीको अभाव र कमजोर पूर्वाधारले किशोरीहरु ढुक्क हुने अवस्था नरहेको संयुक्त राष्ट्र संघिय बाल कार्यक्रम (यूनिसेफ) का अधिकारीहरु बताउँछन् ।

यस्तै अवस्थाका वीच शिक्षा विभागले शौचालयको सहज उपलब्धता र पहुँचका लागि विद्यालय स्तर केन्द्रित खानेपानी र सरसफाई निर्देशिका तयार गरिरहेको छ । छात्र–छात्रा मैत्री छुटाछुट्टै शौचालय र पूर्वाधार विकासका लागि निर्देशिका केन्द्रित रहेको विभागले जनाएको छ । शौचालयका लागि आवश्यक बजेट समेत बृद्धि गरिएकाले अबका शौचालय व्यवस्थित हुने विभागका एक अधिकारीले दावी गरे ।

‘विगतमा एउटा शौचालयको लागि अधिकतम २ लाख ५० हजार रुपियाँ छुट्याइने गरिएकोमा यस वर्षदेखि रकम बृद्धि गरेर ४ लाख रुपियाँसम्म उपलब्ध गराउने व्यवस्था गरिएको छ, ती अधिकारीले भने–‘रकम बृद्धिसँगै नयाँ बन्ने शौचालय निकै व्यवस्थित हुनेछन् ।’ महिनावारीको समयमा समाजले गर्ने विभेदलाई सुधार गर्न डेढ महिना अघि खानेपानी तथा सरसफाई मन्त्रालयका सह–सचिव राजनराज पाण्डेको संयोजकत्वमा ५ सदस्यीय कार्यदल समेत गठन भएको छ ।

‘महिनावारी स्वच्छता व्यवस्थापन’बारेको कार्यदलले रजस्वलाको समयमा समाजले गर्ने व्यवहारलाई महिलामैत्री, किशोरी र छात्रा मैत्री व्यवहारमा सुधार गर्ने सहित छाउपडी जस्ता कुसंस्कार तोड्ने अध्ययन अघि बढाइरहेको कार्यदलका सह–संयोजक कविन्द्र कार्कीले बताए । खानेपानी मन्त्रालयको खानेपानी तथा सरसफाई राष्ट्रिय प्रशिक्षण केन्द्र प्रमुख समेत रहेका कार्कीले भने–‘महिनावारीको समयमा प्रयोग गरिने कपडा र प्याड व्यवस्थापनका लागि के कस्तो सार्वजनिक पूर्वाधार आवश्यक जरुरी छ भन्नेबारेमा समेत अध्ययन भइरहेको छ ।’

महिनावारीको समयमा प्रयोग गरिने स्यानिटरी प्याडलाई सरकारले विलासिताको सामानको सूचिमा राखेकाले भन्सार शुल्क महंगो भएपछि त्यस्ता सामग्री न्यून शुल्कमा भित्र्याउने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालयले पहल अघि बढाएको बताइएको छ ।

सो मन्त्रालयले त्यस्तो सामग्रीलाई अति आवश्यक स्वास्थ्य सामग्रीको सूचिमा समावेश गरि भन्सार शुल्क न्यून गराउन पहल अघि बढाएको हो । यससँगै महिनावारीबारेको सचेतनाका लागि सरकार सहित सरोकारवाला निकायले एकीकृत ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता औल्याएका छन् ।