नेपालीहरू भारतीय बजारमा आश्रित बन्दै

0
Shares

जितेन्द्र भण्डारी, पाँचथर
फालेलुङ गाउँपालिका–६, तप्पेका टीकादेव राईलाई वर्षभरि पुग्ने खाद्यान्न र दैनिक उपभोग्य वस्तुको जोहो गर्ने चटारोले छोएको छ यति बेला, जसका लागि करिब ५० किलोमिटर टाढाको भारतीय बजार मानेभञ्ज्याङ पुग्नुपर्छ। वर्षाको सिजनमा पहाडको कच्ची सडकमा सवारीसाधन चल्दैनन्। त्यसैले मनसुन शुरू हुनुपूर्व नै सबै सामग्रीको जोहो गरिसक्नुपर्ने टीकादेवले बताउनुभयो।

टीकादेव मात्र होइन उत्तरपूर्वी पाँचथरको फालेलुङ गाउँपालिकाको माथिल्लो क्षेत्रका नागरिक वर्षौंदेखि भारतीय बजारको भरमा दैनिकी चलाउन बाध्य छन्। सो क्षेत्रको तप्पे, डढेली, सुकेटार, भुसुने, मैदाने, कात्तिके, माँझखर्क र छेउखर्कलगायतका नागरिक यसरी भारतीय बजारको भर पर्नुपरेको हो।

सदरमुकाम फिदिमसँग हालसम्म पनि सहज यातायात सेवाको पहुँचमा जोडिन नसकेको सो क्षेत्रका स्थानीय भारतीय बजार नपुगे भोकै बस्नुपर्ने अवस्था आउने बताउँछन्। सो क्षेत्रका स्थानीयले भारतीय बजार मानेभञ्ज्याङबाट तुम्लिङ, मेक्मा, जौबारी, कालापोखरी, बिखेदेखि नेपाल–भारत सीमावर्ती सन्दकपुर हुँदै खाद्यान्नदेखि सम्पूर्ण आवश्यक सामग्री नेपाल त्रित्त्याउने गरेका छन्। ‘मानेभञ्ज्याङबाट भारतीय रुपियाँ ५ हजारमा ल्यान्डरोभर गाडी रिजर्भ गर्न सकिन्छु –टीकादेवले भन्नुभयो। तर सदरमुकाम फिदिमबाट भने गाडी पुर्याउनै कठिन हुने उहाँले बताउनुभयो।

यसरी भारतीय बजारबाट सामान ल्याउँदा न्यूनतम मूल्यको चामल प्रतिकिलो ५० रुपियाँ र नुन प्रतिकिलो २५ रुपियाँमा घर पुर्याउन सकिने अर्का स्थानीय चन्द्रवीर राईले बताउनुभयो। वर्षामा गाडी नचल्ने र सीमापारिबाट पटक–पटक सामान ल्याउन झन्झटिलो हुने भएकाले हरेक वर्ष मनसुन शुरू हुनुपूर्व वर्षभरिलाई पुग्ने सामान ल्याउने गरेको मचिन्द्रको भनाइ छ। ‘यो भेगका सबैले यसै गर्छन्ु –उहाँले भन्नुभयो। जङ्गल बढी र अत्यन्तै पातलो बस्ती भएको सो क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत पशुपालन र तरकारी खेती हो।

गोठमा पालेका गाईको ओलनबाट छुर्पी बनाउने उनीहरू आफूले उत्पादन गरेको वस्तुलाई पनि सीमापारि नै निर्यात गर्दै आएका छन्। त्यहाँका किसानले उत्पादन गर्ने टमाटर र आलु पनि भारतीय बजार नै लैजानुपर्ने तप्पेका मचिन्द्र राईले बताउनुभयो। उताका व्यापारीसँग वस्तु विनिमयसमेत हुने उहाँको भनाइ छ।

शुरूमा तल्लो क्षेत्रका विभिन्न बस्तीबाट गोठ बस्न माथिल्लो क्षेत्र जाने क्रममा ती गोठहरूले हाल आएर साना–साना बस्तीकै रूप लिएको पर्या–पर्यावरणको क्षेत्रमा सक्रिय संस्था दीपज्योति युवा क्लब सिदिनका जीवन राई बताउँछन्। जिल्ला सदरमुकाम र अन्य नेपाली बजारबाट समेत टाढाको दूरीमा रहेकाले सो क्षेत्रका स्थानीय पहिल्यैदेखि भारतीय बजारमा आश्रित हुनुपरेको उहाँले बताउनुभयो।