दूध बेचेर मासिक दुई लाख



नेपाल समाचारपत्र
हेटौंडा
मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३, देवीडाँडामा प्रेमप्रसाद दाहालले गाईपालनबाट मासिक दुई लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । आठ वर्षअघिबाट व्यावसायिकरुपमा गाईपालन व्यवसाय गरिरहेका दाहालको गाईफर्म मकवानपुरको नमूना फर्मका रुपमा परिचित छ ।

दाहालको गोठमा जर्सी र होलिस्टन गरी २० वटा गाई छन् । यी गाईंबाट दैनिक दुई सय लिटर दूध दाहालले बिक्री गर्दै आएका छन् । उनलाई दूध बिक्री गर्न बजारसम्म आइरहनुपर्ने झन्झट छैन । घरबाटै दैनिक संकलित दूध बिक्री भइरहेको दाहाल बताउँछन् । भन्छन्–उत्पादनमात्र गर्न सक्नुपर्छ, किन्ने मान्छे घरमै आउँछन् ।

दूध बिक्रीबाट आएको कमाई दाहाल परिवारले घरखर्च, शिक्षादीक्षामा लगाउने गरेको छ । ‘आम्दानी भइरहेको छ र सजिलैसँग छोराछोरीको शिक्षादीक्षा अनि घर चलेको छ,’ दाहाल भन्छन्–सोचेजस्ता अझ गर्न सकिएको छैन । नत्र, आम्दानी अहिलेको दोब्बर हुन्थ्यो । गाईपालन व्यवसायका लागि दाहालले १६ लाख रुपियाँ लगानी गरेका छन् । गाईको रेखदेख, गोठ सरसफाइ तथा दूध संकलनका लागि दाहालको गोठमा दुई जना विहान–बेलुका खटिने गर्दछन् ।

गाईपालनका लागि दाहालले आवश्यक व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिएका छन् । अढाई बिगाहा क्षेत्रमा स्वीस, नेपियर, मलाटोलगायत जातका घाँस लगाएका छन् । दूध बढाउन अथवा गाईका लागि उपयुक्त भएकाले घाँस व्यवस्थापन गरिएको उनको भनाइ छ । गाईको पिसाब र गोबर संकलनका लागि दाहालले ७२ हजार लिटरको प्लाष्टिक पोखरी निर्माण गरेका छन् । ‘व्यवसायलाई आवश्यक पर्ने सबै पूर्वाधारमा ध्यान पनि दिनुपर्ने भएकाले सकेसम्म व्यवस्थापन गरेको छु,’ दाहाल भन्छन् । गाईगोठमा सुरुमा बनाइएको ट्रसलाई उनले आधुनिकीकरण गरेका छन् ।

दाहालको गाईफार्म परिचित भएकाले विभिन्न जिल्लाका कृषक तथा कृषिसँग सम्बन्धित संस्थाका व्यक्ति गाईफर्म अवलोकनका लागि आउने गर्दछन् । कृषि मन्त्रालय, जिल्ला कृषि कार्यालय, पशुसेवा कार्यालयलगायत कार्यालयका साथै प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारीलगायतले गाईपालनमा उनले पाएको सफलता गाईफर्ममै पुगेर सोधीखोजी गर्ने गरेका छन् ।

दाहालको गाईपालन व्यवसायप्रतिको लगाव देखेर गाईफर्म अवलोकनकर्ताले आफू प्रेरित भएको बताउने गरेका छन् । गाईगोठलाई आधुनिकीकरण गरेर दूधका परिकार घरमै बनाएर बजारसम्म लैजाने व्यवस्थापन गरेर आम्दानी बढाउन उनीहरुले सुझाव दिने गरेका छन् । आफ्नो व्यावसायिक कार्यप्रति प्राप्त सुझावलाई आफूले लिए पनि मेहनती जनशक्ति विना कृषि क्षेत्रमा विकास सहज नभएको उनी बताउँछन् । भन्छन्– योजना त कति छन् कति । तर, ती योजना पूरा गर्न आर्थिक र सिपालु जनशक्ति पनि चाहिन्छ ।

सुरुमा ६० हजार लगानी गरी थालिएको दाहालको गाईपालन व्यवसाय अहिले जिल्लामा नमूना कृषि कार्यका रुपमा परिचित छ ।

प्रतिक्रिया दिनुहोस्