पर्यटकिय नगरी बनाउने भनिएपनि मुसिकोटको फोहर हटेन


धनवीर दाहाल, रुकुम । रुकुम जिल्लाको सदरमुकाम मुसिकोटलाई पर्यटकिय नगर बनाउनका लागी धेरै प्रयास नभएका होइनन् । मुसिकोटको एउटा टोल पुर्ण सरसफाइयुक्त टोल पनि घोषणा भइसकेको छ ।

मुसिकोट बजारको चन्दननाथ टोल पुर्ण सरसफाईयुक्त टोल घोषणा भइसकेको छ । तर मुख्य बजार क्षेत्र व्यवस्थित नहुँदा दिनानुदिन फोहर बढ्दै गएको छ । बढ्दो मात्रामा भइरहेको घर निमार्ण र सडक बिस्तारले गर्दा झन फोहर देखिएको छ । मुसिकोटकोे पुष्पलाल चोक, बालमन्दिर, बागबजार, शहिद मैदान लगाएतका ठाँउहरुमा रहेको फोहरलाई व्यवस्थित नगर्दा सदरमुकाममा दुर्गन्ध फैलिएको हो । फोहर थुप्रँदै्र जाँदा सम्म त्यसलाई उचित स्थानमा व्यवस्था गर्नमा कसैको चासो नगएको स्थानीयको गुनासो छ ।
मुसिकोट बजारलाई व्यवस्थीत बजार बनाउनका लागी केही ढिला भएको मुसिकोट नगरपालिकाले स्विकार गरेको छ । तर दिनानुदिन बढ्दै गएको फोहरलाई व्यवस्थित गर्नका लागी नगरपालिकाले पहल गरिरहेको मुसिकोट नगरपालिकाका इन्जीनियर घनश्याम शर्माले बताउनुभयो ।
मुसिकोटलाई थप आर्कषित बनाउने मुसिकोटडाँडा, चाँपा, सल्ले बिमान स्थल तथा डिग्रे शाईकुमारी मन्दिर सम्म पुग्ने पर्यटकका लागी बजारको फोहरले बितृष्णा जागेको छ । बजारलाई कालोपत्रे गर्ने तथा खानेपानीको लागी पाइप बिछ्याउन भन्दै एक बर्षदेखी मध्यबजारमा बिभिन्न खाल्डाहरु पारिएको छ । बर्षातको समय सुरु हुन एक महिना सम्म पनि खाल्डाखुल्डी नपुर्दा समस्या उत्पन्न भएको छ ।

जिल्ला समन्वय समिती रुकुमले सम्बन्धीत निकायलाई ध्यान आर्कषण गराउने बताएको छ । जिल्ला समन्वय समिती रुकुमका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले मुसिकोटलाई सुन्दर र सफा शहर बनाउन नगरपालिकासँगको समन्वयमा यथाशिघ्र पहल गर्ने बताउनुभयो । रुकुमका अन्य बजार क्षेत्र भन्दा मुसिकोट सबैभन्दा ठुलो बजार भएकोले पनि यो ठाँउको सुन्दरताबाट मात्र अन्य बजार क्षेत्रले सिक्न सक्दछन् ।