संसद्को चालु अधिवेशन अन्त्य


काठमाडौँ, ४ जेठ । व्यवस्थापिका–संसद्को चालु दोस्रो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति कार्यालयबाट चालु अधिवेशन अन्त्यसम्बन्धी प्राप्त पत्रलाई आजको बैठकमा सभामुखले प्रस्तुत गर्दै अधिवेशनको अन्त्य गराइएको हो । मन्त्रिपरिषद्को आजकै बैठकले सोबारे निर्णय गरेको थियो ।

सभामुख ओनसरी घर्तीले सो अधिवेशनमा भए गरेका कामको फेहरिस्त बैठकमा प्रस्तुत गर्नुभयो । विसं २०७३ वैशाख २१ गतेदेखि कुल ३८१ दिनका अवधिमा ११४ दिनमा १३५ पटक बैठक बसेको थियो । यसबीचमा १७ विधेयक पारित भएका छन् ।
अधिवेशनमा दोस्रो संशोधन विधेयक एक पटक फिर्ता भई पुनः पेस भएको छ । सो अवधिमा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित हुनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध अविश्वास प्रस्ताव पेस भयो । त्यस्तै सत्ता पक्ष र प्रतिपक्षको विवादका कारण पटक पटक सदनको कारबाही अवरोध भयो । संसद् बैठकको सो अवधिमा प्रधानमन्त्रीले पाँच पटक सार्वजनिक महत्वका विषयमा महत्व दिनुभयो ।

सभामुख घर्तीले अघिल्ला अधिवेशनका तुलनामा यो अधिवेशन केही लामो समय चले पनि संविधानको कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण साबित भएको बताउनुभयो । उहाँले स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भएकामा सरकार र जनतामा धन्यवाद दिँदै संविधानले तोकेकै समयमा प्रदेश र सङ्घको निर्वाचन पनि सम्पन्न गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभयो । सभामुख घर्तीले संसद्को चालु अधिवेशनमा विभिन्न सांसद कारणवश विभिन्न मितिमा अनुपस्थित हुनुभएको सूचना प्रस्तुत गरेकामा बैठकले स्वीकृति दिएको छ । रासस