नतिजा हेर्दै, घरदैलो गर्दै


नेपाल समाचारपत्र, बाँके । जेठ ३१ गते हुने चुनावलाई लक्षित गरेर बाँकेका राजनीतिक दलहरुले वडा कार्यालयहरु खोल्नेदेखि घरदैलो अभियान चलाइरहेका छन् । ३, ४ र ६ नम्बर प्रदेशको चुनावी नतिजालाई नियालिरहेका उम्मेदवारहरु आफ्नो पकड बलियो बनाउन खटिएका छन् ।
ठूला पार्टीहरुले नेपालगञ्जमा मेयरको टुंगो भने लगाइसकेका छैनन् । दलहरुले वडा कार्यालय खोल्ने र टोलटोलमा घरदैलो अभियान भने चलाइरहेका छन् । यस्ता कार्यक्रमहरुमा संभावित उम्मेदवारहरु पुग्ने गरेका छन् ।
कांग्रेस र एमालेले यतिबेला धमाधम वडा कार्यालय खोलिरहेका छन् । माओवादी केन्द्र भने नगरमा सुस्ताएको छ । मेयरसँगै वडाध्यक्ष र सदस्यहरुकै टुंगो लाग्न ढिलाई भएकाले नेपालगञ्ज बजारमा चुनावी गतिविधि रोकिएको माओवादी केन्द्रका नेता आइपी खरेलले बताउनुभयो । ‘उम्मेदवारहरु टुंग्याउन ढिलाई भएकाले नगरको गतिविधि रोकिएको छ, अब केही दिनमा टुंगो लाग्छ र अभियानले तिब्रता पाउँछ, नेता खरेलले भन्नुभयो, गाउँपालिकाहरुमा भने चुनावी प्रचार प्रसार तिब्रताका साथ भइरहेको छ ।’
वडा कार्यालयहरु खोल्ने, जनताको घरघरमा पुगेर मत माग्ने काम भइरहेको छ । बाँकेको प्रचण्ड गर्मीलाई सहेर उम्मेदवारहरु जनताको घरघरमा पुगेका छन् । गाउँ, टोलस्तरीय कार्यक्रमहरु गरिएका छन् । एमालेका उपसचिव प्रमोद धितालले चुनावी गतिविधि तिब्रताका साथ भइरहेको बताउनुभयो । पार्टी उपाध्यक्ष निरक गुरुङको उपस्थितिमा बिहीबार डुडुवामा घरदैलो गरिएको थियो ।

डुडुवा गाउँपालिकाका उम्मेदवार सकिल अहमद खाँले दैनिक घरदैलो गरिरहेका छन् । खजुरा गाउँपालिकाका प्रमुख किस्मतकुमार कक्षपति र उपप्रमुख एकमाया विकले पनि दैनिक टोलटोलमा पुगेर जनतालाई समेट्ने काम गरिरहेका छन् ।
पार्टीहरुले जानकी, राप्ती सोनारी, नरैनापुर, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकामा पनि प्रचार प्रसार र घरदैलो गरिरहेका छन् । ठूलो पार्टी कांग्रेसले उम्मेदवारको टुंगो नै नलगाई प्रचार प्रसार गरिरहेको छ । कोहलपुर नगरपालिकाबाट चार जनाको नाम सिफारिस भएर आएको जिल्ला स्रोतले बताएको छ । नेपालगञ्जको मेयरका लागि १२ जनाले निवेदन हालेका छन् ।
चुनाव हुन्छ कि हुँदैन भन्ने शंका आशंकामा रहेका नेताहरु ३, ४ र ६ नम्बर प्रदेशमा सफलतापूर्वक निर्वाचन भएपछि आ–आफ्नो ठाउँमा गएर चुनावी गतिविधिमा लागेका छन् । देशभरको समग्रसँगै छिमेकी ६ नम्बर प्रदेशको नतिजाले यहाँ केही प्रभाव पार्ने भएकाले नेताहरु ‘अपडेट’ भइरहेका छन् ।
बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र ६ वटा गाउँपालिका रहेका छन् । विगतमा चुनावमा कहिले कुन पार्टी त कहिले कुन पार्टीलाई जिताएका थिए, यहाँका बासिन्दाले । तीन प्रदेशको चुनावको नतिजा पनि पकड क्षेत्र भनिएको ठाउँमा अर्को पार्टीले जितेकाले यहाँका उम्मेदवारहरु राम्रो भनेको ठाउँमा पनि निगरानी बढाएका छन् ।