अनुगमनमा पुगेका सिडियो र डिएसपीसँग पीडित स्थानीयको आक्रोश


रामधन राई, खोटाङ ।
जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी खोटाङस्थित खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे की १७ वर्षीया किशोरी रीता तामाङको आफन्तहरु प्रशासन र सुरक्षा प्रमुखले आफ्नो गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका छन् ।

तीन महिनाअघि रहस्यमय ढंगले मृत अवस्थामा भेटिएकी रीताको आफन्त तथा स्थानीयहरु प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल र डिएसपी नबिनकिशोर प्रधान घटनास्थल नजिकै पुगे पनि रीताको मृत्युका विषयमा चुलिएको असन्तुष्टी र गुनासो सुन्न नचाहेको भन्दै आक्रोशित भएका हुन् ।
स्थानीय तहको निर्वाचनका लागि तोकिएको मतदानस्थलको अनुगमनका क्रममा खोटाङबजार पुगेर फर्कँदै गरेका प्रमुख जिल्ला अधिकारी र डिएसपीसँग गुनासो राख्न खोजे पनि भेट नगरी बाटो मोडेर हिँडेको स्थानीय दिपबहादुर थापाले बताउनुभयो । गत माघ २६ गते बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी रीताको मृत्युका विषयमा अनुुन्धान गरेपनि हालसम्म दोषी पत्ता लाग्न नसकेको भन्दै असन्तुष्ट आफन्तले गुनासो राख्ने तयारी गरे पनि नपाएको जनाएका छन् ।
खोटाङबजारबाट फर्कँदै गरेका प्रमुख जिल्ला अधिकारी र डिएसपीलाई रिताको हत्यामा संलग्न दोषी पत्ता लाग्नमा भइरहेको ढिलाई लगायतका विषयमा गुनासो राख्नका लागि बिहिबार डेढ सयभन्दा बढि स्थानीय सिमपानीमा भेला भएका थिए । तर, प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोलीले सिमपानीकै गोपाल घिमिरेको होटलमा खाजा खाएपछि बजारको बाटो छाडेर तल्लो सडकबाट बाटो काटेको स्थानीय बिमला कार्कीको गुनासो छ ।
रिताको मृत्यु रहस्यमय बनेकाबेलामा आफ्नो गाउँमै आइपुगेका प्रशासन र सुरक्षा प्रमुखलाई गुनासो राख्नका लागि सिमपानी, लिच्कीराम्चे, चिप्रिङ, खोटाङबजारका महिला भेला भएका थिए । प्रमुख जिल्ला अधिकारी र डिएसपीको टोली सिमपानी बजारको बाटो छाडेर १०÷१५ मिनेटको बाटो पैदल हिँडेर पुःन स्थानीय शिब खड्काको घर नजिकबाट गाडीमा चढेर सदरमुकाम फर्किएको स्थानीयको गुनासो छ । सिडियो र डिएसपी अर्कै बाटोबाट गाडीमा चढेर हिँड्न लागेको थाहा पाएपछि सिमपानी प्रहरी चौकीका असईलाई फोन गरेर भेटका लागि खबर भनिदिन आग्रह गर्दा पनि बेवास्ता गरिएको थापाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले भने भेट गर्ने विषयमा आफुहरुलाई जानकारी नभएको बताउनुभयो । मृतकको बुवासँग आधा घण्टा कुरा गरेर सान्त्वना दिएको प्रजिअ पोखरेलको भनाई छ । तर, अरुसँग भेट गर्ने खबर नभएको उहाँले स्पष्ट पार्नुभयो । खबर भएको भए भेट नहुने कुरै नहुने प्रजिअ पोखरेलले जनाउनुभयो ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र रिजनल इन्भेस्टीगेसन टिम (आरआइटी)को टोलीले घट्नास्थल एबं शंकास्पद व्यक्तीमाथि अनुसन्धान गर्दा समेत रिताको मृत्युको विषय किनारा लाग्न सकेको छैन । दोषी पत्ता नलाग्दा किशोरी हत्या रहस्यमय बनेको छ । लामो समयसम्म हत्यामा संलग्न दोषी पत्ता लाग्न नसक्दा मृतकका परिवार थप पिडित भएका छन् । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।
सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दै आएकी रीता घर नआएपछि खोजी गर्ने क्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा बिभत्स अवस्थामा मृत भेटिएकी थिईन् ।