प्रशान्त वली
हिलो चरणअन्तर्गत वैशाख ३१ गते भएको स्थानीय निर्वाचनको मतगणना कार्य अहिले जारी रहेको छ। यसबीचमा गणनामा ढिलाइका साथसाथै मतपत्र बदर हुने समस्या पनि थुप्रै आएको गुनासो आइरहेको छ। निर्वाचन आयोगले छोटो तयारीमा गरेको निर्वाचन भएको र मतदाता शिक्षा पुर्याउनसमेत पर्याप्त समय नभएकाले पनि अहिले यस्तो अवस्था उत्पन्न भएको बताइएको छ।
गणना जारी रहेको समयमा देशभरका विभिन्न मतगणना स्थलमा हजारौं मत बदर भएको पाइएको छ। ती मत बदर नभएको भए मतपरिणाम नै हेरफेरसमेत हुन सक्ने अवस्थालाई नकार्न सकिँदैन। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम चलाए पनि कार्यक्रम प्रभावकारी हुन नसक्दा मतगणनाको क्रममा हजारौं मत बदर भएका हुन्।
यस विषयमा निर्वाचन आयोगले पूर्ववत रूपमा न पूर्ण तयारी गरेको देखियो न त राजनीतिक दलहरुनै संवेदनशील भएको देखियो। दल र उम्मेदवारले मतदान गर्ने तरिकाभन्दा आफूलाई मत दिन मात्र मतदातासँग अभियान सञ्चालन गरेका कारण पनि धेरै मतपत्रहरु बदर भएको देखिएको छ। निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २ अर्ब १० करोड रुपियाँ छुट्याएको थियो। तर, समय अभाव देखाउँदै आयोगले मतदाता शिक्षा कार्यक्रम देशभरका सबै वडामा प्रभावकारी ढंगले सञ्चालन गर्न सकेन। र, बजेट पनि पूरै सक्नै पाएन। आयोगले मतदाता शिक्षा कार्यक्रमका लागि २१ हजार स्वयंसेवी कार्यकर्ता खटाएको थियो। तर, निर्वाचन दुई चरणमा हुने भएपछि पहिलो चरणको स्थानीय निर्वाचनका लागि ६ हजार ६ सय ४२ मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता खटाइएको निर्वाचन आयोगले जानकारी दिएको छ। ती स्वयंसेवीहरु घर–घरमै नपुगेका कारण पनि धेरै मतपत्रहरु बदर भएका छन्।
मतपत्र बदर हुदाँ हार्ने उम्मेदवारले जित्ने र जित्ने उम्मदवारले हार्ने सम्भावना हुने निर्वाचन आयोगका पूर्वआयुक्त दोलखबहादुर गुरुङले नेपाल समाचारपत्रसँगको कुराकानीमा बताउनुभयो। उहाँले भन्नुभयो– ‘मतदाता शिक्षा कार्यक्रम नाम मात्रैको भयो। काठमाडौंजस्तो सुगम ठाउँ मेरै घरमा त स्वयंसेवीहरु आएनन् भने बिकटमा के हालत होला ? त्यसकारण निर्वाचन आयोगले मतपरिणाम सबै ठाउँबाट आइसकेपछि सर्वप्रथम त मतपत्र बदरका विषयमा समीक्षा गर्नुपर्छ। साथै मतपत्र बदर हुनु पछाडिका कारणबारे अध्ययन गर्नुपर्छ।’ किन स्थानीय तहको चुनावमा यति धेरै मात्रामा मतपत्र बदर भएको भनी जिज्ञासा राख्दा निर्वाचन आयोगका पूर्वआयुक्त गुरुङ भन्नुहुन्छ– ‘समयको अभाव, मतपत्रको आकार ठूलो, राजनीतिक दल र उम्मेदवारलाई आवश्यक तालिमको अभाव, निर्वाचन शिक्षाको प्रचारप्रसार कम हुँदा धेरै मतपत्रहरु बदर भएका हुन्। त्यसका लागि मुख्यरूपमा सरकार र निर्वाचन आयोग गम्भीर हुनैपर्छ।’
निर्वाचन आयोगले मतदातालाई सजिलो हुनेभन्दा पनि कसरी मतपत्र छिटो छरितो छाप्ने भन्ने विषयमा मात्रै ध्यान केन्द्रित गर्दा बदर मत बढेको पाइएको छ। आयोगले वैशाख १९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो। यद्यपि आयोगले त्यसको एक महिनाअघि नै चैतबाट मतपत्र छाप्न शुरु गरिसकेको थियो। जसका कारण उम्मेदवार नभएको दलको निर्वाचन चिन्ह पनि मतपत्रमा छापिएका कारण विभिन्न स्थानमा बितरण गरिएको मतपत्र बदर भएको खुल्न आएको छ। मतदाता शिक्षा कार्यकर्ताहरुलाई वडा–वडामा पठाउने निर्वाचन आयोगले सर्कुलर जारी गरे पनि अधिकांश घर तथा वडामा ती मतदाता शिक्षा कार्यकर्ताहरु नपुगेको पूर्वनिर्वाचन आयुक्त गुरुङले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। मत बदरबाट मताधिकारको दुरुपयोग हुने गरेको भन्दै यसका लागि सम्बन्धित तवरबाट विशेष कार्यक्रम तर्जुमा गरेर अघि बढ्नुपर्ने पूर्वनिर्वाचन आयुक्त गुरुङको भनाइ छ।
निर्वाचन आयोगले पनि निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको स्वीकार गरिसकेको छ। बदर कम गर्न आयोगले हुँदैसम्मको प्रयास गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘राजनीतिक दलहरुले ६ महिनाअघि निर्वाचनको मिति तय गरेको भए यति धेरै समस्या हुने थिएन। मतपत्रको आकार पनि सानो हुने थियो। मतदाता शिक्षा कार्यक्रम सबै ठाउँमा सक्नुपर्ने समय पनि अपुग भयो। जसले गर्दा मतपत्र केही बदर भएको हुन सक्छ।’ सरकारले आगामी आवधिक निर्वाचनको मिति चुनाव हुनु कम्तीमा ६ महिनाअघि गतेसहित सार्वजनिक गरिसक्नुपर्ने आयोगका प्रवक्ता श्रेष्ठले बताउनुभयो।
बदर मतलाई न्यूनीकरण गर्न आगामी दिनमा राजनीतिक दल र उम्मेदवारहरुलाई प्रशिक्षण कक्षा आयोगले चलाउनुपर्ने, मतदाता शिक्षाका बारेमा प्रचारप्रसार गर्ने र मतदाता शिक्षक तालिम दुर्गम ठाउँसम्म पुर्याउन आवश्यक रहेको पूर्वनिर्वाचन आयुक्त गुरुङको भनाइ छ।
स्थानीय तहको चुनावका लागि तयार पारिएको मतपत्रका दुईवटा भाग रहेका छन्। ६८ वटा लहर र पौने १ मिटर लम्र्बा, ५१ सेन्टिमिटर चौडाइ रहेको छ। एउटा उम्मेदवारलाई मात्रै मत दिनुपर्नेमा दुई वा दुईभन्दा बढी उम्मेदवारको चुनाव चिन्हमा मतको चिन्ह लगाएमा त्यो मतदाताको मत बदर हुन्छ। चुनाव चिन्हमा स्वस्तिक छाप लगाउनुको सट्टा ल्याप्चे लगाए पनि मतपत्र बदर हुने आयोगले बताएको छ।
यसबाहेक एउटा चुनाव चिन्हमा लगाएको स्वस्तिक छापको मसी मतपत्र पट्याउँदा लत्पतिएर अर्को चिन्हमा लाउँदा पनि मत बदर हुनुका साथै कतिपय स्थानमा दलहरुबीच विवादको विषय बनेको समेत पाइएको छ।
दस्तखत नभएका मतपत्र फेला
काठमाडौँ, (नेस)। कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएका १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ।
सो विषयमा दलहरुबीचमा विवाद भएपछि स्थानीय दलका प्रतिनिधिले छलफल गरी सो वडाको मतगणना पुनः गर्ने समझदारी कायम गरिएको हो। मतदान अधिकृत गजेन्द्रबहादुर सिंहले वडा नं २ को गणनाका क्रममा मतदान अधिकृतको दस्तखत नहुनु आफ्नो कर्मचारीबाट त्रुटी भएको स्वीकार्दै त्यस क्षेत्रको मतगणना पुनः गरिने गरी अहिले वडा नं ३ र ४ को गणना गरिएको जानकारी दिनुभयो।
कुल मतदाता २८ हजार १ सय ३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६ सय ३३ मत खसेको थियो। जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २ सय ६४ जना उम्मेदवारको प्रतिस्पर्धा रहेको छ।
सूर्यप्रसाद शर्मा
प्रवक्ता , निर्वाचन आयोग
राजनीतिक दलहरुले ६ महिनाअघि निर्वाचनको मिति तय गरेको भए यति धेरै समस्या हुने थिएन। मतपत्रको आकार पनि सानो हुने थियो। मतदाता शिक्षा कार्यक्रम सबै ठाउँमा सक्नुपर्ने समय पनि अपुग भयो। जसले गर्दा मतपत्र केही बदर भएको हुन सक्छ।
दोलखबहादुर गुरुङ
पूर्वनिर्वाचन आयुक्त
मतदाता शिक्षा कार्यक्रम नाम मात्रैको भयो। काठमाडौंजस्तो सुगम ठाउँ मेरै घरमा त स्वयम्सेवीहरु आएनन् भने बिकटमा के हालत होला ?
प्रतिक्रिया