काठमाडौँ, २९ वैशाख । संस्कृतिविद् सत्यमोहन जोशीले हरेक क्षेत्रको भाषाको विकासबाट नेपालमा भाषिक एकता र सांस्कृतिक विविधताको विकास हुने बताउनुभएको छ ।
नइ प्रकाशनले आज आयोजना गरेको कार्यक्रममा विभिन्न साहित्यकारलाई सम्मान गर्दै संस्कृतिविद् जोशीले मानिसको मृत्युपछि नभई जीवित अवस्थामा साहित्यकारको सम्मान गर्ने बानी बसाल्नु पर्नेमा जोड दिनुभयो ।
भारतका सम्मानित व्यक्तित्व बिन्द्या सुब्बाले भारतीय साहित्यकारलाई नेपाली साहित्य संस्थाबाट सम्मानित गरेकामा सराहना गर्दै यसले दुई देशबीचको जनस्तरसम्म साहित्य सम्बन्ध अझ घनिष्ट हुने चर्चा गर्नुभयो ।
अर्का सम्मानित व्यक्तित्व साहित्यकार मोदनाथ प्रश्रितले साहित्य देशको सम्पत्ति भएकाले यसको विकासका लागि नवोदित साहित्यकारले अथक परिश्रम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्कृतिविद् जोशीले साहित्यकार मोदनाथ प्रश्रितको मेरो चित्रकारिता, नरेन्द्रराज जोशीद्वारा लिखित, अनुुकृतिकाद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित ‘दि ग्रेट पोइट अफ नेपाल’ तथा नरेन्द्रराज प्रसाईंद्वारा लिखित, नमिता सिंहद्वारा अनुदित र अनुराज जोशीबाट सम्पादित ‘स्केलिङ थेन्ज’ नामक पुस्तक विमोचन गर्नुभयो ।
सो अवसरमा संस्कृतिविद् जोशीले भारतका साहित्यकार बिन्द्या सुब्बालाई नइ देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार तथा डा मोदनाथ प्रश्रितलाई नइ खरा सुकिर्ती पुरस्कारबाट सम्मान गर्नुभयो । रासस
प्रतिक्रिया