नेपाल–भारत सीमामा तनाव


नेपाल समाचारपत्र, भद्रपुर । नेपाल–भारत सीमा जोड्ने भद्रपुर–गलगलिया नाका शुक्रवार विहान दुई घण्टा अवरुद्ध बनेको थियो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को ट्रकले किचेर भारतीय एक महिलाको घटनास्थलमै मृत्यु भएपछि आक्रोसित स्थानीयबासीले अन्तराष्ट्रिय सीमा क्षेत्र अवरुद्ध पारेका थिए ।

भद्रपुर सीमासंग जोडिएको १९ बी बटालियन एसएसबीको अन्तराष्ट्रिय चेकपोष्टसहित कार्यालय घेराउ गर्दै स्थानीयले नाराबाजी गरेपछि विहान ९बजे देखि दिउसो ११ बजेसम्म अन्तराष्ट्रिय सीमा अवरुद्ध भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

सीमा अवरुद्ध भएपछि भारतबाट नेपाल तर्फ आउने सरसमानसहित आवातजावतमा समेत समस्या उत्पन्न भएको थियो । एसएसबीका विनयकुमार ओझा र नविन कुमारले मृतक परिवारलाई कानुन बमोजिम क्षतिपुर्ति दिलाउन पहल गरिने आश्वासन स्थानीयलाई दिएपछि दुवै पक्षको सहमति बमोजिम ११ बजेपछि भद्रपुर–गलगलिया नाका सुचारु भएको थियो ।

भारतीय प्रहरीका अनुसार शुक्रवार विहान साढे ८ बजेतिर भातगाउ सीमा चौकी छेऊमा एसएसबीको एसके ०३–१००५ नम्बरको ट्रकले सोही ठाउको ६० बर्षिय झरिमन निशालाई किचेको थियो ।

चालकले ट्रक घुमाउने क्रममा महिलालाई किचेपछि स्थानीयबासी एसएसबी प्रति आक्रोसित बन्दै चेकपोष्ट घेराउ गर्दै नेपाल–भारतको अन्तराष्टिय सीमा क्षेत्र पुगेका थिए ।