राष्ट्रपतिद्वारा स्व थाई राजाप्रति श्रद्धाञ्जलि व्यक्त


थाइल्यान्ड (बैंकक), २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्व थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले ग्रान्ड प्यालेसमा राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभयो । त्यहाँ पुग्दा उहाँलाई थाई नरेशका प्रतिनिधि र उच्च पदाधिकारीले स्वागत गर्नुभएको थियो । त्यहाँको सेनाले उहाँलाई सलामी पनि दिएको थियो ।

गत वर्ष असोज २७ गते निधन हुनुभएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उहाँको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ । राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उहाँको पार्थिव शरीरमा माल्यापर्ण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभएको छ । राष्ट्रपतिको भ्रमणमा सवारीमन्त्रीका रुपमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ । रासस