हेलिकप्टरबाट सुरक्षा अनुगमन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
बैशाख ३१ गतेको निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा गरे लगत्तै मौन अवधीको पालना भए नभएको तथा मतदान केन्द्रको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी शिव सिंखडाको टिमले अनुगमन गरेको छ ।

नेपाली सेनाको हेलिकप्टरमा प्रजिअ शिव सिंखडा, विष्णु दल गण धुलिखेलका कर्णेल रामहरी केसी लगायत अनुगमनमा सहभागि भएका थिए । जिल्लाको विकट मानिएका खानिखोला, महाभारत, चौरी देउराली गाउँपालिका लगायतको हेलिकप्टरबाट अनुगमन गरेको छ । निर्वाचन विथोल्ने प्रयास भए तत्कालै गोली हान्न कसैको आदेश नचाहिने गरी जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

जिल्लाका १३ वटै स्थानीय तहमा २ लाख ३० हजार ८ सय ४९ मतदाताले मतदान गर्न पाउने छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तह मध्ये पनौती नगरपालिकामा धेरै मतदाता रहेका छन् । बनेपा जनसंख्याका हिसावले ठुलो नगरपालिका हो भने मतदाताका हिसावले सबै भन्दा धेरै पनौती नगरपालिका रहेको छ । डाँडापारीको खानीखोला गाउँपालिका मतदाताका हिसावले सबै भन्दा थोरै मतदाता रहेको गाउँपालिका हो । पनौतीमा ३१ हजार ७८ मतदाता रहेका छन् भने खानीखोलामा गाँउपालिकामा ७ हजार ३५ रहेको छ ।

खानीखोला गाउँपालिका– ७०३५, चौरीदेउराली गाउँपालिका– १४५३९, तेमाल गाउँपालिका–१४४२४, धुलिखेल नगरपालिका– २०४३०, नमोबुद्ध नगरपालिका– २००७०, पनौती नगरपालिका– ३१०७८, पाँचखाल नगरपालिका– २३१७८, बनेपा नगरपालिका– ३०३७५, बेथाञ्चोक गाउँपालिका– ११५६०, भुम्लु गाउँपालिका– १२६७९, मण्डन देउपुर नगरपालिका– २१६२३, महाभारत गाउँपालिका– ८७७५, रोशी गाउँपालिका– १५३७३ मतदाता रहेका छन् ।

जिल्ला सुरक्षा समितिको बैठकले अति संवेदनशिल मानिएका १० मतदान केन्द्रलाई ४ नेपाल प्रहरी, ४ म्यादी, शशस्त्र प्रहरी र नेपाली सेना सहित १५ जना भन्दा धेरै खटाउने निर्णय गरेको छ भने संवेदनशिल मानिएका मतदान केन्द्रहरुमा १२ जना खटाउने निर्णय गरिएको छ । त्यस्तै सामान्य अवस्थामा मतदान केन्द्रलाई ३ प्रहरी, ४ म्यादी, शशस्त्र र नेपाली सेना गरी १० जना खटाउने निर्णय भएको छ । जिल्लाका सबै निर्वाचन केन्द्रहरुमा गरी ३ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने भएको छ । बैशाख १२ गते सम्ममा सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरी काम शुरु भएको छ ।
जिल्ला मुख्य निर्वाचन अधिकृत मेदीनप्रसाद पौड्यालका अनुसार जिल्लामा ३ सय ७ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण शुरु भईसकेको छ ।