होटलमा गुण्डागर्दी गर्ने र हप्ता उठाउने प्रबृत्तिको अन्त्य


यमलाल भुसाल, बुटवल ।
होटलमा गुण्डागर्दी गर्ने तथा हप्ता उठाउने प्रबृत्तिको अन्त्य भएको होटल व्यबसायीहरुले बताएका छन् ।

बुटवल तथा आसपासका क्षेत्रमा पहिले पहिले गुण्डागर्दी गर्ने र हप्ता उठाउने प्रबृत्तिले होटल व्यबसाय माथी उठ्न नसकेको उल्लेख गर्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीका अध्यक्ष समुन्द्र जिसीले त्यसको अन्त्यसंगै होटल व्यबसाय राम्रो बन्दै गएको र त्यसकै कारण होटल व्यबसायमा लगानी बढ्दै गएको बताउनु भयो ।
भैरहवामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल, सुनौली बुटवल ६ लेनको सडक, बुटवलमा बन्ने अन्तर्राष्ट्रिय स्टरको सम्मेलन केन्द्रका कारण रुपन्देही पर्यटकीय हवको रुपमा बिकास हुँदैछ ।

यिनै पूर्वाधार बिकाससंगै पर्यटक आगमनमा पनि बृद्धि हुने आशाले बुटवल तथा आसपासका क्षेत्रमा साना तथा ठूला होटल व्यबसायमा पनि लगानी बढेको व्यबसायी बताउँछन् ।
होटल व्यबसाय पर्यटन व्यबसाय पनि हो । सेवामुलक व्यबसायका रुपमा स्थापित होटल व्यबसायमा लगानी गर्दा आन्तरिक तथा बाह्य पर्यटकबाट राम्रो आम्दानी गर्न सकिने भएकाले पनि होटल व्यबसायमा आकर्षण बढेको संघका वरिष्ठ उपाध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो ।
बुटवल ६ मैत्रीपथमा सञ्चालन गरिएको राप्ती न्यू सगुन होटलको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले पहिले हेयको दृष्टिले हेरिने होटल व्यबसायलाई हेर्ने दृष्टिकोणमा सुधार भएकाले लगानी बढेको संघका महासचिव बाबुराम गौतमले बताउनु भयो ।
राप्ती उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ताराबहादुर डागीको करिव ५१ लाख रुपैंया लगानीमा बातानुकुलित होटल शुभारम्भ गरिएको हो । बुटवलमा लगानी मैत्री वातावरण र यावत पूर्वाधार विकासको कारण सम्भावना देखेर बुटवलमा आई होटल व्यबसायमा लगानी गरेको सचालक डागीले बताउनु भयो ।
यसैविच होटल तथा रेष्टुरेण्ट व्यबसायी संघ रुपन्देहीले सुद्धोधन गाउँपालिकामा उप समिति बिस्तार गरेको छ । संघले शुक्रबार एक कार्यक्रमको आयोजना गरि उक्त गाउँपालिका भित्र होटल व्यबसाय सञ्चालन गरेका व्यबसायीहरुलाई भेला गराई केशव कंडेलको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।
समितिको सहसंयोजकमा कमलप्रसाद ढकाल, सचिवमा लोकनाथ कंडेल, कोषाध्यक्षमा अमिसा कक्षपति र सदस्यहरुमा बाबुराम गिरी, प्रेमनारायण पाण्डे तथा लक्ष्मण भण्डारी रहेको संघका सदस्य प्रेम वञ्जाडेले बताउनु भयो ।