खुत्रुके फुटाएर मामाघरलाई


नेपाल समाचारपत्र, हेटौंडा । लामो समयदेखि सडक बालबलिकाका क्षेत्रमा क्रियाशील मामाघर नेपालको निर्माणाधीन सुविधासम्पन्न बालमैत्री भवनका लागि सहयोग जुटिरहेको छ ।
रकम अभावका कारण भवन निर्माणले गति लिन नसकेको अवस्थामा मामाघर नेपालको ‘एक ब्यक्ति, एक ईंट्टा’ अभियानलाई सहयोग गर्न मामाघर नेपालका शुभचिन्तक एवम् समाजसेवीले सहयोग गरेका हुन् । हेटौंडा–१ मा रहेको बीके रिकण्डिसनका प्रोप्राइटर विक्रम शाहीले नगद १५ हजार र मेरीगोल्ड सहकारी संस्थापक सचिव कुमार लोले नगद १० हजार रुपिया“ मामाघर सचिव देवराज लामिछानेलाई हस्तान्तरण गरेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।
मामाघर नेपाल मकवानपुरमा हेटौंडा—१० स्थित न्यु पातेढि“डोका सञ्चालक राम कार्की तथा मोनिका कार्कीले छोरा श्रीजनको १० औं जन्मदिनको अवसरमा सहयोग उपलब्ध गराएका छन् । श्रीजनले एक पटकको खाजाका साथै एक वर्षभरि खुत्रुकेमा जम्मा गरेको रकम ६ हजार ५ सय १ सहयोग गरेका हुन् ।
हेटौंडा–११, नवलपुरका प्रेसु दाहाल, रश्मि पराजुली, शान्ता भट्टराई, सुशीला पराजुली, श्रीया कार्की र सम्झना बिडारीले २ बोरा चामल, ५ केजी दाल, २ दर्जन बिस्कुट र २ वटा मञ्जनलगायत सामग्री सहयोग गरेका छन् ।