महोत्तरीका दुई गाउँपालिकामा जङ्गली सुँगुर आतङ्क


गौशाला, २९ वैशाख । महोत्तरी जिल्लाको एकडारा र मनरा गाउँपालिकामा अहिले जङ्गली सुँगुरले आतङ्क मच्चाएका छन् ।

केही दिनदेखि अचानक देखापरेका २०÷२५ वटाको समूहमा रहेका ती सँुगुरको समूहले एकडारा र मनरा गाउँपालिकाको चारैतिर खेतबारीमा लगाइएको लाखौँको उखु, फलफूल र तरकारी बालीलाई क्षति पु¥याइरहेको स्थानीयवासीले बताएका छन् ।

यसअघि कहिले नदेखिएका लामो चुच्चो परेको मुख भएका सुँगुर एकडारा र मनराका १५÷२० बिघाभन्दा बढीमा लगाइएको उखुको जरा काटिदिने, आधा बोट काटिदिने गर्नाले अधिकांश उखु नष्ट भएको मनराका रवीन्द्र भगतले बताउनुभयो ।

त्यसैगरी, सुँगुरले ५०÷६० बिघामा लगाइएको लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली र तरबुजा, काँक्रो, केरालगायत फलफूल खाइदिने तथा जथाभावीरुपमा खेतबारी खनेर क्षति पु¥याउने गरेको एकडाराका गोपाल झाले बताए ।

यसअघि कहिले नदेखिएका ती सँुगुरको समूहले खेतबारीमा क्षति पु¥याइरहँदा पीडित किसानले धपाउन जाँदा समूहमै सुँगुरले किसानलाई पनि लखेट्ने गरेको र अत्यधिक तीव्रगतिमा मानिसतिरै आइलाग्नाले किसानलाई त्रसित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।

दर्जनौँको समूहमा रहेका ती जङ्गली सुँगुरले अहिले त्यस क्षेत्रका एकडारा र मनरा गाउँपालिकाभित्र रहेका मनरा, एकडारा, कट्टिकटैया, इटहर्वाकट्टी, साँढा, भटौलिया, भङ्गहिया, पर्सा, सहसराम, भोलही सहितका गाउँमा लाखौँको क्षति पु¥याउँदै स्थानीयस्तरमा आतङ्क मच्चाएको सर्वसाधारणको गुनासो रहेको छ । रासस