किराँत राई समुदायको उभौली पर्व सुरु


भोजपुर, २९ वैशाख । किराँत राई समुदायको महान् पर्व उभौली साकेला÷साकेन्वा÷साकेवा पर्व सुरु भएको छ ।

पर्वका अवसरमा भोजपुरको बोखिम साकेन्वा थान, मोहोरिया, देउराली, टँुडिखेललगायत विभिन्न थानमा साकेन्वा सिली नाचिने किरात राई यायोक्खा जिल्ला अध्यक्ष पाविहाङ राईले बताउनुभयो ।

चण्डी पूर्णिमादेखि सुरु भएको पर्व पन्ध्र दिनसम्म पितृ तथा भूमिको पूजाआजा गरी मनाउने प्रचलन रहेको छ । किराँती प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकिसकेपश्चात् बाली भित्र्याउँदै मङ्सिरे पूर्णिमामा उधौली पर्व मनाउँछन् ।

पर्वका अवसरमा परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टाको तालमा साकेन्वा सिली नाच्ने गरिन्छ । उभौलीमा विशेष गरेर बालीनालीमा रोग नलागोस्, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस्, पारुहाङ र सुम्निमाले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहित मनाइने अध्यक्ष राईको भनाइ छ । रासस