नदीले बगाउँदा एक मजदुरको मृत्यु

0
Shares

बिष्णुप्रसाद भण्डारी, अछाम ।
नदीले बगाएर अछामको साँफेबगरमा हिजो एकजना मजदुरको ज्यान गएको छ ।

डोटी जिल्लाको साबिक घण्टेश्वर गाबिस वडा नम्बर ३ निवासी अन्दाजी ४५ बर्षीय हर्क बहादुर रोकायको साँफे स्थित प्रभाली गाडमा बगेर ज्यान गएको हो ।

सडक मर्मतको काममा संलग्न रोकाय ढुंगा उत्खननका लागि दिउँसो प्रभावली खोला गएका थिए । एक्कासी पानी परेपछि खोला छेउमै ओत लागेका रोकायलाई प्रभाली गाडमा आएको बाढीले बगाउदा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

साँफे–दीपायल सडक खण्ड मर्मतका लागि अछाममा बस्दै आएका रोकायका अन्य साथीहरु भने बाढीबाट ज्यान जोगाउन सफल भएका छन । खोला छेउमै रोकायसँगै ओत लागेका उनीहरु भने भागेर ज्यान जोगाउन सफल भएका हुन ।

खोलाले बगाएको थाहाँ पाए पश्चात युवा संघ नेपाल जिल्ला कमिटी अछामका सदस्य बिबश संघर्ष सहित स्थानीय युवाहरुले मृतकको शव बाहिर निकालेका थिए । प्रहरीका अनुसार मृतकका परिवारलाई खबर गरिएको छ भने घटनाबारे स्थानीयहरुसँग सनाखत पनि गराइएको छ ।