अपरेसनपछिको मृत्युले अस्पतालमा तनाव


नेपाल समाचारपत्र, हेटौंडा । हेटौंडा–१७ निवासी करिब २५ वर्षीया सुनिता अर्यालको सुत्केरी अपरेसन गर्दा मृत्यु भएपछि मकवानपुर सहकारी अस्पतालमा तनाव भएको छ ।
दुई पटकको अपरेसनपछि भरतपुरमा उपचारका क्रममा मृत्यु भएपछि तनाव सुरु भएको जनाइएको छ । अस्पतालपरिसरमा बिहीबार साँझ आफन्तले नाराबाजी गरेको प्रहरीले जनाएको छ । नाराबाजीका क्रममा अस्पतालमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
आफन्तले क्षतिपूर्ति र अस्पताल प्रशासनले माफी माग्नुपर्ने लगायत माग राखी आन्दोलन गरिरहेका छन् । बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ राघवेन्द्र ठाकुरले सुनिताको अपरेसन गरेका थिए । अपरेसन दोहो¥याएर गरिएपछि भरतपुर रिफर गरिएको थियो ।
मृतकका पति सुमन अर्यालका अनुसार अस्पतालले पैसा दिने प्रलोभन देखाएर घटनालाई गुपचुप राख्न भनेको थियो । पीडितका आफन्तले अस्पतालको चरम लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको बताएका छन् । मृतकका पति सुमनले भने– ‘अस्पतालले २ लाख दिन्छु घटना गुपचुप राख भने, के मेरो पत्नीलाई २ लाखमा किन्न खोजेको हो ?’