घरमा शौचालय खेतैभरि दिसा



नेपाल समाचारपत्र, बाँके – शौचालय राम्रो बनेको छ । तर, शौचालयमा इट्टा, पतिङ्गर कोचिएको छ । प्रयोग गरिएको छैन । घरमा शौचालय भएपनि मानिसहरु खेतमा दिसा गर्न जान्छन् ।
सरकारी तथा सम्बद्ध गैरसरकारी निकायले शौचालय बन्ने बित्तिकै गाउँलाई खुल्ला दिसामुक्त गरिरहदा बनेका शौचालयको हविगत यस्ता देखिएका छन् । करकाप, दबाबमा बनाउन लगाइएको शौचालयमा स्थानीयले दिसा भने गरेका छैनन् । राप्तीपारीका अधिकांश घरको शौचालय प्रयोगबिहीन रहेका छन् ।
जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गर्ने अन्तिम चरणमा रहदा खुल्ला दिसामुक्त घोषणा भएका गाउँको अवस्था दयनीय देखिएका छन् । अधिकारीहरु भने ‘पहिला खुल्ला दिसामुक्त घोषणा गरौं, अनि दिसा गर्न सिकाउँला’ भनिरहेका छन् ।
बाँकेमा साविकको होलिया र इन्द्रपुर गाविस तथा नेपालगञ्ज उपमहानगरपालिकाका केही वडामात्रै खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी छन् । जाग्दै–सेलाउदै चलेको अभियानले शौचालयसम्म बनाउन लगाएपनि स्थानीयहरु शौचालयमा दिसा गर्न अप्ठेरो मानिरहेका छन् । ‘गन्हाएर बस्नै सकिदैन, बानी नपरेकाले भनिरहेका छन् ।
साविकको वनकट्टी गाविसमा बुधबार खुल्ला दिसामुक्त घोषणा चलिरहदा केही व्यक्तिलाई सम्मान गरिएको थियो । पछाडी बसेका केहीले भने ‘जसको घरमा शौचालय छैन, उसैलाई सम्मान गरेको छ’ भनेर खिसी उडाइरहेका थिए । होलियामा प्रहरीले शौचालय नभएका व्यक्तिलाई आफ्नो कार्यालयमा ल्याएर काम लगाएर सजाय दिइरहेको छ । शौचालय बनाउन साम, दाम, दण्ड, भेदको नीति अपनाएको निकायले अब त्यसमा प्रयोग गर्न यही नीति अपनाउनु पर्ने अवस्था आएको छ । शौचालय बनाउनु नै युद्ध जिते बराबर भइरहेका बेलामा त्यसमा प्रयोग गरेनन् भन्ने कुरा ठूलो नभएको अधिकारीहरुको बुझाइ छ ।
जिल्ला समन्वय समितिले पूर्ण सरसफाईसम्बन्धी पाँच वर्षे कार्ययोजना बनाइरहेको छ । खुल्ला दिसामुक्त घोषणा सिध्याएर त्यसलाई प्रयोगमा ल्याउने तयारी रहेको छ । समितिका सूचना अधिकारी शरद पौडेलले शौचालयमात्रै बनाएर भएन, त्यसलाई स्वच्छ र सफा कसरी गर्ने, दिसा गरेपछि के गर्नेलगायतका कुराहरु समेटेर पाँच वर्षे कार्ययोजना बनिरहेको बताउनुभयो । ‘अन्तिम चरणमा छ, अब छलफल गरेर प्रयोगमा ल्याउँछौं, पौडेलले भन्नुभयो, के गर्ने दिसा गर्न र हात धुन पनि सिकाउनु पर्ने अवस्था रहेको छ ।’
बाँकेमा खुल्ला दिसामुक्त घोषणाको अभियान चलेको सात वर्ष बढी भइसकेको छ । शुरुवाती चरणमा अन्तर्राष्ट्रिय संघ संस्थाले सबै घरमा शौचालय नहुँदा पनि तामझामका बीचमा खुल्ला दिसामुक्त घोषणा गराए । पछि ती संस्थाले हात झिके । सरकारी निकाय तात्तिन समय लागेकाले अझै अभियान पूरा भएको छैन ।

साईगाउँ दिसामुक्त
बाँकेको साईगाउँ बिहीबार खुल्ला दिसामुक्त घोषणा भएको छ ।

जानकी गाउँपालिका–१ मा पर्ने साईगाउँमा सतप्रतिशत शौचालय बनेपछि खुल्ला दिसामुक्त घोषणा गरिएको हो । सरकारी तथा गैरसरकारी संघ संस्थाका अधिकारीहरुको उपस्थितिमा भएको घोषणामा सभामा बाहिर दिसा नगर्नेलगायत विभिन्न प्रतिबद्धताहरु गरिएका छन् ।
शौचालय निर्माणमा गाउँका केही भने उदाहरणीय देखिएका छन् । स्थानीय मिठु साई मागेर परिवार पाल्ने भएपनि उनले पक्की शौचालय बनाएका छन् । ‘घर कच्ची छ । शौचालय भने पक्की बनाएका छन्, सरसफाई अभियान्ता मुन खड्काले भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्