गाई काट्ने पक्राउ


नेपाल माचारपत्र, बाँके । गाई काटेको आरोपमा नरैनापुर गाउँपालिकाका नन्कुने खाँ पक्राउ परेका छन् ।
पाँच जना मिलेर गाई काटेको सूचना आएपछि पुगेको प्रहरीले गाईको छालासहित खाँलाई पक्राउ गरेको हो । अन्य चार जना भने फरार रहेका छन् ।
नरैनापुरको कटकुइयामा गाई काट्ने गरेको सूचना पहिलादेखि नै आइरहेका थियो । बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले पछिल्लो समयमा त्यस क्षेत्रमा गोरु हराएका कुराहरु बाहिर आएका थिए । ‘उजुरी नै होइन, गोरुहरु हराएको सूचना आइरहेका थिए, उता लगेर काटेर खादा रहेछन्, एसपी राईले भन्नुभयो, एकजनालाई समातेका छौं । अरु भागेकालाई खोजिरहेका छौं ।’
गाई काटेको सूचना स्थानीयले तत्कालै दिएपनि सुइया प्रहरीले बेवास्ता गरेको बुझिएको छ । पछि भगवानपुरबाट गएको प्रहरी टोलीले एकजनालाई समातेको थियो । ‘सूचना दिने बित्तिकै प्रहरी आएको भए मासुसहित सबैजना पक्राउ पर्थे, स्थानीय स्रोतले भन्यो, ढिला हुँदा मासु अन्त लगियो र धेरैजना भागे ।’
गाई÷गोरुको सुकुटी बनाएर बेच्ने भन्दा पनि मिलेर खाने गरेको बुझिएको छ । ‘गाई काट्ने र आन्द्राभुडी फालिहाल्ने, मासु चाहि बाँडेर खाने गरेको सूचना आएको छ, एसपी राईले भन्नुभयो ।
त्यसक्षेत्रमा दैनिकजसो गाई कटान हुन्छ भन्ने सूचना स्थानीयबाट आइरहदा पनि बेवास्ता गरिएको थियो ।