१३ वर्षीय लामाद्वारा गुम्बा उद्घाटन

0
Shares

लमजुङ, (नेस)
लमजुङमा नवनिर्मित एक गुम्बाको १३ वर्षीय लामाद्वारा उद्घाटन गरिएको छ। बुद्धजयन्तीको सन्दर्भमा उक्त गुम्बाको उद्घाटन गरिएको हो। जिल्ला सदरमुकाम बेंसीशहर नगरपालिका–८, स्थित क्याम्पस रोडमा निर्मित देलेग थायेलिङ गुम्बाको उद्घाटन १३ वर्षीय औतारी लामा क्यावज्ये डेन्छेन, याङ्सी उम्येन राङ्ज्युङ दोर्जे रेम्पुछेंद्वारा गरिएको हो। तामाङ लामा विधिअनुसार उक्त गुम्बाको उद्घाटन गरिएको आयोजकले बताए।

कुल ३४ लाख रुपियाँको लागतमा उक्त गुम्बा निर्माण गरिएको देलेग थायेलिङ गुम्बा व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो। उहाँका अनुसार नेपाल तामाङ घेदुङ बेंसीशहर एकाइको नेतृत्वमा गुम्बा निर्माण गरिएको हो। सो कार्यका लागि विदेशबाट ७ लाख रुपियाँ, अन्य सरकारी तथा गैरसरकारी संस्थाहरूबाट १८ लाख सहयोग प्राप्त भएको थियो। त्यसबाट नपुग भएको रकम नेपाल तामाङ घेदुङ बेंसीशहरस्थित एकाइका सदस्यहरूबाट जनही ५ हजार रुपियाँका दरले संकलन गरी बेहोर गरिएको तामाङ समाजकी पत्रकार कुमारी तामाङले बताइन्। उनका अनुसार ‘धर्म र संस्कृतिलाई विकासको माध्यम बनाऔं, गुम्बालाई शिक्षाको केन्द्र बनाऔं’ भन्ने नाराका साथ गुम्बाको निर्माण गरिएको हो।

सम्पूर्ण बौद्ध धर्मावलम्बी र बौद्धमार्गीको आस्थाका केन्द्र बनाई सभ्य र व्यवस्थितरूपमा गुम्बा सञ्चालन गर्ने लक्ष्यका साथ गुम्बा निर्माण गरिएको अध्यक्ष तामाङले बताउनुभयो।

उहाँका अनुसार बुद्धजयन्तीका अवसरमा गुम्बा उद्घाटनसँगै ३ दिवसीय विशेष कार्यक्रमको आयोजना गरी बुद्ध पूर्णिमा मनाइएको छ। उक्त समारोहमा काठमाडौं र लमजङका १५–१५ जना लामाबाट विशेष शान्ति पाठ गरिएको छ।