‘बनेपालाई नर्बेजस्तै समृद्ध बनाउने योजना छ’


मोतीराम तिमल्सिना, काभ्रे

नेकपा एमाले बनेपा नगर कमिटीले पहिलोपटक सर्वसम्वत रूपमा उपप्रमुख पदमा सार्वजनिक गरिएकी साविक उग्रचण्डी नाला गाविसकी रेखा दाहालले नगरबासीहरुलाई देशकै खुसी र सुखी नगरबासीका रुपमा चिनाउने बताउनुहुन्छ ।

काभ्रे जिल्लाकै व्यापारिक केन्द्रका रूपमा रहेको बनेपा नगरलाई सबल, सुन्दर र समृद्ध नगर बनाउनका लागि योजना बारे रेखा भन्नुहुन्छ– ‘जल, जमिन, जंगल र प्राकृतिक श्रोतलाई सही ढंगले परिचालन गरी विकासको मेरुदण्डका रूपमा रहेको पर्यटन, उद्योग, ब्यवसायहरुको विकासका लागि थप योजनाका साथ बनेपा नगरमा आर्थिक वृद्धिसँगै सम्वृद्ध नगर बनाउन सकिन्छ। बनेपा नगरलाई विश्वको सबैभन्दा खुसी र सुखी नर्बेजस्तो बनाउन चाहेको उहाँको भनाइ थियो।

राजनीतिमा महिलाहरु र त्यो पनि हाम्रोजस्तो सानो र आर्थिक अवस्थाले कमजोर भएको परिवारको व्यक्तिलाई उम्मेदवार बनाएर देश र जनताप्रति अझ जिल्लाको मेरुदण्डका रूपमा मानिएको ब्यापारिक नगर बनेपाको नेतृत्व गर्ने अवसरलाई आफूले ह्दयदेखि नै महत्त्वपूर्ण मानेको उहाँ बताउनुहुन्छ ।‘आजसम्म म कतै असफल भएको छैन। निर्वाचनमा मेरा योजनाहरुका कारण आम मतदाताहरुलाई मैले विश्वास दिलाउन सक्छु र सफल कार्यकाल बनाउन सक्छु आत्मविश्वासका साथ रेखाले भन्नुभयो– ‘मतदाताहरुको घरदैलो अभियानमा पाएको आशीर्वादले निर्वाचनमा मैले नै जित्छुजस्तो लागेको छ।’ आफ्नो नगरका लागि केही गर्न सकिन्छ भन्ने सोचले भएको जागिर छाडेर राजनीतिमार्फत सेवामा लाग्ने प्रण गरेको उहाँको भनाइ थियो।

सानैदेखि धेरै दुःखकष्ट व्यहोर्दै आउनुभएकी रेखाको बुझाइमा महिलाहरु राजनीतिमा लाग्न रोक्ने एउटै कुरा आर्थिक सशक्तिकरण हुन नसक्नुरहेछ। त्यसमा पनि परिवार शिक्षित भएको अवस्थामा सबै कुरा सहज हुन्छ। शिक्षा र आर्थिक पाटो महिलाहरुको प्रमुख कुरा हो। यसलाई आगामी दिनमा अभियानकै रूपमा लैजाने भन्दै उहाँले महिलाहरुलाई राजनीति र सामाजिक क्षेत्रमा निरन्तर कृयाशील बनाइराख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।