चन्दाको भरमा विद्यालय


सरिता चलाउने, सल्यान ।
सल्यान कालागाउँ ७ नेटामा रहेको श्री निम्न माध्यमिक विद्यालय चन्दाको भरमा सञ्चालन हुदै आइरहेको छ । निजि स्रोतमा रहेका शिक्षकहरुलाई तलब खुवाउन गाउँमा चन्दा संकलन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

वि.स. २०४६ सालमा स्थापना भएको विद्यालयमा २ जनाको मात्र दरबन्दी रहेको र बाँकी ५ शिक्षक निजी स्रोतमा राखेको विद्यालयका प्रधानाध्यायक नोखीराम वलीले जानकारी दिनु भयो ।

निजि स्रोतका शिक्षकलाई तलब दिने कुनै आर्थिक आधार नभएका कारण वार्षिक रुपमा चन्दा संकलन गरेर तलब खुवाउदै आइरहेको वलीले बताउनु भयो । उहाँले भन्नु भयो ‘जिल्ला शिक्षा कार्यालयले प्राविका २ तथा राहत कोटामा १ जनामात्र शिक्षकको व्यवस्था गरि दिएको छ बाँकी ५ जना शिक्षकहरुलाई तलब खुवाउने कुनै विद्यालयको स्रोत छैन, अहिलेसम्मको स्रोत भनेको चन्दा संकलन नै हो ।’

वार्षिक रुपमा प्रत्येक घरबाट २ सय देखि एक हजारसम्म चन्दा संकलन गरेर शिक्षकहरुलाई तलव खुवाई रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक कार्कीले जानकारी दिनु भयो । विद्यालयमा आउने विद्यार्थीका अभिभावक, विभिन्न पेशा व्यवसाय गर्दै आइरहेको व्यक्ति तथा प्रतिघरबाट स्वच्छिक चन्दा संकलन गरेर विद्यालय चलाउदै आइरहेको कार्कीले बताउनु भयो ।
उहाँले भन्नु भयो विद्यालयको कुनै आन्तरिक स्रोत छ्रैन्, विद्यालय सञ्चालन नगर्ने हो छोराछारीको पढाई बरवाद हुने पढाउने हो आर्थिक समस्याले च्याप्दै आइरहेको छ, पहिलेको जस्तो गरेर स्थानीयहरुले पनि चन्दा दिन मान्दैनन्, विद्यालय सञ्चालन गर्न नै गाह्रो भइसक्यो ।

निमाविसम्म २ सय विद्यार्थी रहेको उक्त विद्यालयले वि.स. २०६५ सालमा निमाविको अनुमति पाएको थियो । ८÷९ वर्ष निमाविको अनुमति पाउदा पनि अहिलेसम्म एकजना पनि निमाविको दरबन्दी पाउन नसकेको प्र.अ. वलीले बताउनु भयो । सरकारले विद्यालय सञ्चालन गर्न मात्र अनुमति मात्र दिने तर त्यसको समोचित व्यवस्थापन गर्न नसकेको उहाँले बताउनु भयो ।

जिल्ला शिक्षा कार्यालय सल्यानमा पटक पटक दरबन्दीको माग गर्दै निवेदन पेश गरेपनि त्यसको कुनै सुनुवाई नभएको र अनुगमन पश्चात निर्णय गर्ने भन्दै कार्यालय पन्छिने गरेको उहाँले बताउनु भयो ।