वडाध्यक्षको दौडमा मानन्धर



नेपाल समाचारपत्र, काठमाडौं ।
घरदैलो अभियानमा जान ठिक्क परिरहेका नेपाली काँग्रेस काठमाडौं महानगरपालिका – १७ नम्बर वडाका वडाध्यक्षका उम्मेदवार नवीन मानन्धरलाई बुधबार ठमेलको व्यस्त ठाउँसंगैको थँहिटीमा भेट्दा निकै उत्साहित देखिन्थे ।

२० वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा अन्य उम्मेदवार झै उनी पनि चुनावको प्रचारको अन्तिम दिनको योजना बनाउनमा व्यस्त थिए । बढी जनसहभागिता जुटाएर चुनावी सभा कसरी सफल बनाउने भन्ने विषयमा थँहिटीको एक छेउको चोकमा कार्यकताहरुसंग छलफल गरिरहँदा भेटिएका उम्मेदवार मानन्धरलाई सोधे ‘मुहारमा देखिएको उत्साहको स्रोत के हो ?’ उनले साहित्यिक पारामा जवाफ दिए‘ म प्रति मतदाताहरुमा देखिएको उत्साहको प्रतिविम्ब नै मेरो मुहारमा देखिएको हो ।’
‘घरदैलो अभियानका क्रममा ‘नवीन मानन्धर भन्ने तपाई नै हो, तपाईलाई नचिनेपनि नाम त सुनेको छु ’भनेर खुशी व्यक्त गर्नेहरु धेरै भेटिए, यसले मलाई निकै उत्साहित तुल्याएको छ’ उम्मेदवार मानन्धरले भने । मतदाताहरुबाट यस्तो प्रतिक्रिया दिनुको श्रेय उनले आफ्नो सामाजिक कामहरुलाई जाने बताए ।
बैशाख १२ गतेको विनाशकारी भूकम्पछि विपद् व्यवस्थापन र त्रिपाल वितरणमा उनको भूमिकालाई मतदाताहरु अहिले पनि सम्झिन्छन् । मन्त्री, सभासद्, उच्च पदस्थ कर्मचारी लगायत पहुँच भएकाहरुको सिफारिश बिना त्रिपाल समेत नपाउने त्यति बेलाको अवस्था थियो । चुनाव प्रचारप्रसारको क्रममा आम वडावासीहरुले यो कुरालाई निकै दोह¥याएको उनको दाबी गरे। नभन्दै उनले भूकम्प जाँदा आजका स्वार्थ हेरेर त्रिपाल नबाँडेको पनि स्पष्ट पारे ।
२०४६ सालमा पार्टी प्रवेश गरेका मानन्धर स्थानीय स्तरमा सामाजिक कार्यकताका रुपमा चिनिएको वडावासीहरु निसंकोचका साथ स्वीकार गरेको पाइन्छ । उनको चुनावी प्रतिस्पर्धा मुख्यतः नेकपा (एमाले) का उम्मेदवार गोपाल माली र माओवादी केन्द्रका उम्मेदवार नीलकण्ठ मालीसंग हुने भएको छ । प्रतिस्पर्धी उम्मेदवारको तुलनामा आफ्नो सामाजिक छवि निकै बलियो रहेको पनि उनको दाबी छ ।
उनी तिमिला बहुउद्देश्य सहकारी समिति, नेपाली मैत्री अध्ययन केन्द्रका अध्यक्ष र १७ वडाको नागरिक मञ्चको संयोजक हुन् । त्यस्तै रेडक्रस सोसाइटीका अतिरिक्त छत्रपाटी निशुल्क चिकित्सालय, थँहिटी मानन्धर गुठीका सचिव पनि मानन्धर नै हुन् । सामाजिक संघसस्थाको फोरमले मानन्धरलाई काम गर्न, चिनाउन र स्थानीयको मन जित्न निकै सहयोग गरेको बताउँदै भने ‘वडाध्यक्ष भएर त्यस्ता सामाजिक कामलाई थप उचाईबाट अघि बढाउने छु ।’
वडाध्यक्षको पद भनेको पुरै राजनीतिक पद होइन । वडाध्यक्षको भूमिका र जिम्मेवारीमा सामाजिक कार्यकताको भावना, सामाजिक सेवाको हिस्सापनि जोडिएको उनको कथन छ । ‘चुनाव जित्ने प्रक्रियामा राजनीति अवश्य रहन्छ । तर जितेपछि गर्नैे जिम्मेवारी पुरै सामाजिक हुुनुपर्दछ ।’ आफ्नो पृष्ठभूमीले यस मान्यतालाई बलियोसंग प्रमाणित गरेको जिकिर गर्दै आफू सो पदका लागि योग्य भएका दाबी गरे ।
तपाईका चुनावी एजेण्डाहरु के के हुन् ? भन्ने प्रश्नमा उनले एजेण्डा चुनावी नभई प्रतिबद्धतापत्र रहेको तर्क गरे ‘चुनावका लागि मात्र मैले एजेण्डाहरु अघि सारेको हाइन । त्यसलै चुनावी एजेण्डा भन्नुभन्दा पनि प्रतिबद्धता पत्र भन्नुपर्ला । ’ वडा सदस्य कमला महर्जन, कवितादास दर्नाल, जितेन्द्र खड्गी र निराजन देउलासंग मिलेर अघि सारेको उनको प्रतिबद्धता पत्रमा सूचना प्रविधि, स्वास्थ्य सेवाको सहज पहुँच, सामाजिक सेवा, संस्कृतिको जर्गेना र युवा स्वरोजगार केन्द्रीत गरिएको छ ।

वडा कार्यालयको वेभसाईट निर्माण गरी वडाका सम्पदा, जात्रा,पर्व बजार भाउ कार्यक्रमहरुको जानकारी दिने, वडाका विशिष्ट व्यक्तिहरुको प्रोफाईल राख्ने, पर्यटक मैत्री वडाका रुपमा विकास गर्ने, एक पुस्तकालय र निशुल्क योग शिविर सञ्चालन गर्ने, वडामा सिसिटिभी क्यामरा जडान गर्ने, ज्येष्ठ नागरिहरुको सुविधा, स्वास्थ्य परीक्षणको व्यवस्था, खेलकुद, विपद् व्यवस्थापन र स्वस्थ मनोरञ्जनको विकास गर्ने लगायत प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । ‘मेरो उम्मेदवारी स्थानीय विकास र संघीय शासन व्यवस्थामा पहिचानको बोध गराउन हो ।’ उनले भने । आफ्नो काम र अवधारणालाई हेरेर मतदाताले न्यायले गर्नेमा उनलाई भित्रैदेखि आत्म विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्