लुटेराको नयाँ रणनीति – रक्सीले स्वागत, बिस्कुटले अन्त्य



कुमार श्रेष्ठ, बाँके । ‘सोल्टी घरमै बनाएको पियोर रक्सी हो, अलिकति लिने हो ?’ नजिकै सीटमा बसेका व्यक्तिले बर्दियाका सूर्य विकलाई आग्रह गरे । भारतको दिल्लीबाट कमाई गरेर फर्किएका विकका दाजुभाईले ती व्यक्तिलाई भने, ‘हाम्रो घरमै छ, यस्तो पियोर रक्सी । खादैनौं ।’
विक भन्नुहुन्छ, खान्न भन्दा पनि उसले पटक–पटक अलिकति चाख्न आग्रह गरिरह्यो । हामीले इन्कार गरिरह्यौं ।’ बर्दियाको बलैगाउँ नाकामा झरेका विक दाजुभाईले रक्सी खान इन्कार गरेकाले नै कमाई घरसम्म पु¥याउन सफल भए ।
करिव दुई दशकदेखि भारतको दिल्लीस्थित बोत्तल कारखानामा काम गरिरहेका विक दाजुभाई सचेत रहेकाले बाटोमा अपरिचित व्यक्तिले दिएको खानेकुरा खाएनन् । सूर्यले भन्नुभयो, ‘यात्राका क्रममा नचिनेको मान्छेले दिएको खानेकुरा खाने हो भने पैसा घरसम्म आउदैन ।’ उहाँका अनुसार, छिमेकी जिल्ला घर बताएर रक्सी, कोक, पानी, बिस्कुट, चकलेट खुवाउन मरिहत्ते गर्नेहरु नेपाली नै हुन्छन् । उनीहरुको चिल्ला कुराको विश्वासमा पर्नु हुँदैन ।
जाजरकोटका बीरे खड्का, प्रेम थापा, पारस थापा र शेरबहादुर थापालाई पनि सल्यान र नेपालगञ्ज घर बताउने दुई युवाले शुरुवामा रक्सी खुवाएका थिए । आफूले पनि खाने र उनीहरुलाई खुवाउने गर्दा गर्दै मन जित्न सफल भए । पछि विषादी मिसाएको बिस्कुट खुवाएर बेहोस् बनाई उनीहरुको पैसा लुटे । ‘बिस्कुट त तीन चरण खुवाए, बीरेले भन्नुभयो, अन्तिममा रहेलपहेल धुलो पनि सोरसार पारेर खुवाएका थिए ।’
रक्सीको दोस्ती घनिष्ट हुन्छ भन्ने नेपालीमा भनाई छ । यही बुझेर होला, भारतको बस यात्रामा पनि लुटेराले रक्सीको स्वागतबाटै मन जित्ने प्रयास गर्छन् । घरमै बनाएको पियोर भनेर रक्सी देखाइदिएपछि नेपालीहरु मख्ख हुने र पायक पर्दा लुटेराले अरु खानेकुरामा नसालु पदार्थ खुवाएर लुटपाट गर्ने गरेको पाइएको छ ।
भारतमा मदिरामा कडाई छ । त्यसका बाबजुद बसभित्र कसरी रक्सी आइपुग्छ । अधिकारीहरु भन्छन्, साना बोत्तलमा लुकाएर राखिन्छ ।’ रक्सी भनेपछि भुतुक्क हुने नेपालीलाई त्यहीले स्वागत गरेर लुटेराले एकप्रकारको गुन नै लगाएका हुन्छन् । अलिअलि रक्सी र त्यससँगै अन्य खानेकुरा खादा मजदुरी गरेर कमाएको पैसा बीचमा लुटाउँछन्, नेपालीहरु । क्षणिकको लोभले गर्दा उसले आफ्नो मात्रै होइन, परिवारकै खुशी लुटाउँछ ।
कोक, पानी, बिस्कुट खुवाउदा शुरुमै शंका हुने भएकाले लुटेराले पछिल्ला दिनमा रक्सीबाट शुरुवात गर्न थालेका छन् । अलिकति रक्सी खाएपछि ‘डन’ नै बन्ने नेपालीको बानीलाई लुटेराले राम्ररी बुझेको बताइन्छ । रक्सी खाएपछि उसले कति पैसा कमाएको र कहाँ राखेकोसम्म भन्न भ्याउँछ । जुन कुरा लुटेराले चाहेको हुन्छ । जाजरकोटको बीरे खड्काको हकमा भने लुटेरा झुक्किएका थिए । रक्सी र बिस्कुट खाएर बेहोस् भएपनि बीरेको कम्मरमा कस्सेर बाँधेको ३२ हजर भारु बचेको थियो । जुन पैसाले बीरेलाई होसमा आउदा खुशी बनायो ।
भारतमा बाह्रैमास काम गर्न जानेहरु पनि विश्वासमा परेर लुटिएको भेटिएका छन् । छिटो विश्वासमा पर्ने नेपालीको बानीले गर्दा दुःख पाउने गर्छन् । नेपाली लुट्नेहरु प्रायः नेपाली नै हुने भएकाले अपरिचित व्यक्तिले दिएको खानेकुरा नखानु नै जोगिने अन्तिम उपाय भएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्